राम्चेमा सार्वजनिक सुनुवाईः स्थानीय समस्याहरुबारे सरोकारवालाको ध्यानकर्षण

  • १३ जेष्ठ २०७६, सोमबार
  • 1994 पटक पढिएको

म्याग्दी १३ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेका स्थानीयले गाउँपालिकाको केन्द्रदेखि विकटता रहेको राम्चे क्षेत्रको पूर्वाधार विकास र स्थानीयका समस्या समाधानमा पहल गर्न आग्रह गरेका छन् । अन्नपूर्ण गाउँपालिकाको आयोजना र म्याग्दी मिडिया सोसाईटीको सहजीकरणमा सोमबार राम्चेमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयले नियमित अबरुद्ध हुने विद्यूतको समस्याले हैरानी व्यहोर्नुपरेको, मिटर रिडिङ गर्ने व्यक्ति घरघरमा नपुग्ने गरेको, मशसुल बुझाउन सदरमुकाम पुग्नुपर्ने झण्झट रहेको भन्दै सम्बन्धीत कार्यालयसंग समन्वय गरि समस्या हल गर्न गाउँपालिकाको ध्यानकर्षण गराएका थिए ।

कार्यक्रममा स्थानीयले वडा कार्यालयमा तत्काल वडा सचिबको व्यवस्थापन गर्न, भौतिक पूर्वाधारयुक्त स्वास्थ्य चौकीमा स्तरीय स्वास्थ्य सेवाको लागि जनशक्ति र अत्याबश्यक थप औषधीको बन्दोबस्त गर्न, कृषिलाई आधुनिकीकरण गर्न बजेट व्यवस्थापन गर्न, महिला सामुदायिक भवनको घेरावारको लागि बजेट व्यवस्थापन गर्न, कृषि र पशुपालनमा अनुदानको व्यवस्था गर्न, युवाहरुको लागि खेलमैदान निर्माण गर्न माग गरेका छन् ।

त्यस्तै सहभागीहरुले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने, सामुदायिक विद्यालयका शिक्षकका छोराछोरीलाई अनिबार्य रुपमा सामुदायिकमा भर्ना गराउनुपर्ने, बालशिक्षाका सहयोगी कार्यकर्ताहरुलाई प्रोत्साहनको व्यवस्था गर्नुपर्ने, गाउँपालिकाको ढुवानी दररेट परिवर्तन गर्नुपर्ने, सडक सञ्जालको पहुँचलाई सहज बनाउनुपर्ने लगायतका माग गरेका थिए । कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष केशमायाँ मगरले गाउँपालिकाले टुक्रे योजनालाई निरुत्साहित गर्न लागेको बताउँदै बस्ती स्तरका अत्याबश्यक र दिर्घकालिन योजनाहरुलाई आगामी आर्थिक बर्षको लागि प्राथमिकतामा राखिने बताउनुभयो ।

उहाँले शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास संगै महिलाहरुको क्षमता विकासका कार्यक्रमहरुलाई गाउँपालिकाले जोड दिएको बताउँदै बस्ती स्तरमा भित्रने योजनालाई प्रभाबकारी कार्यान्वयनमा जुट्न आग्रह गर्नुभयो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत केदारनाथ शर्माले चालु आर्थिक बर्षमा गाउँपालिकाबाट सञ्चालन भएका पूर्वाधार निर्माण र अन्य कार्यक्रमहरु अधिकाँश सम्पन्न भैसकेको बताउनुभयो । बस्ती स्तरबाट गाउँपालिकाको सेवा प्रवाहको अबस्था र विकास निर्माण तथा कार्यक्रमको प्रभाबकारीतालाई बुझ्नको लागि हरेक वडामा सार्वजनिक सुनुवाई गर्न सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक एवम ओमप्रसाद फगामीले गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा लागिपरेको बताउँदै विद्यार्थी, अभिभावक र समुदाय स्तरबाट समेत शिक्षाको क्षेत्र सुधारमा रचनात्मक सहयोग हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष खम बहादुर गर्वुजाले वडाको सबै बस्तीका योजनाहरुलाई कार्यान्वयनमा जुटेको बताउँदै आगामी बर्षको लागि दिगो र उपलब्धीमुलक योजनाहरुलाई प्राथमिकता दिईने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाको शिक्षा शाखाका संयोजक भरत पुन, योजना शाखाका हरिकृष्ण आचार्य, पशु सेवा शाखाका कृष्ण चौधरी लगायतले समेत सहभागिले उठाएका पश्नको जवाफ दिनुभएको थियो । गाउँपालिकाका उपाध्यक्ष मगरको अध्यक्षता, म्याग्दी मिडिया सोसाईटीका अध्यक्ष कमल खत्री र सदस्य प्रताब बानियाँको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।