गुर्जाबासीको आम्दानीको स्रोत ‘भेडापालन’
- १३ जेष्ठ २०७६, सोमबार
- 2514 पटक पढिएको
म्याग्दी, १३ जेठ । म्याग्दीको धौवलागिरि गाउँपालिका–१ गुर्जाबासीको ब्यवसायिक आम्दानीको स्रोत भेडापालन देखिन्छ । उच्च पहाडी भुगोलमा रहेको गुर्जामा अनुकुल हावापानी र चरन क्षेत्रले भेडापालन युवाहरुमा ब्यवसायिक आम्दानीको स्रोत देखिएको हो ।
जिल्लाको सदरमुकाम बेनीदेखि २६ कोष टाढा रहेको गुर्जामा पशुपालन र जडिबुटी गुर्जाबासीको प्रमुख आम्दानीको स्रोत देखिन्छ । दिनप्रतिदिन बैदेशिक रोजगारीमा युवाहरु पलायन भइरहदाँ गाउँपालिले प्राविधिक ज्ञानसिपको ब्यवस्था गर्न सकेमा युवाहरु भेडापालनमा आर्कषण गर्न सकिन्छ ।
३ सय घरपरिवार रहेको गुर्जा गाउमाँ ब्यवसायिक रुपमा भेडापालनलाई १६ घरपरिवारभन्दा बढी कृषकले गरेका छन् । १ जनाले ५० देखि ३÷४ सय सम्म भेडा पालेका छन् । चरन क्षेत्रसंगै भेडापालनलाई प्राथमिकता दिएका किसानहरुले ब्यवसायिक बन्न खोजेपनि बजारको समस्याले बृद्धि गर्न नसकिएको ५५ बर्षदेखि निरन्तर भेडा पाल्दै आएका कृषक नगेन्द्र छन्त्यालले बताए । ब्यवसायिक रुपमा भेडा पाल्दै आएपनि बजारको समस्याले भनेजस्तो मूल्य नपाएको गुनासो कृषक छन्त्यालको रहेको छ।
हिमाली भेगको हावापानी र जडिबुटी खाएर हुर्केका भेडाहरु पोषिलो मानिन्छ । आर्यआर्जन र रोजगारीको आधार गुर्जामा भेडापालनको सम्भावना रहेकोले गाउँपालिकाबाट भेडापालनमा प्राथमकिता दिएर बजेट विनियोजन तथा तालिम दिगो योजना तयारी गरेको गाउँपालिका प्रवक्ता एवम् गुर्जाका वडा अध्यक्ष झक छन्त्यालले बताए ।
हिउँदमा चरनको अभाव, विभिन्न रोग र यातायातको असुविधाले भेडापालन सुनौती भएपनि ब्यवासायीक रुपमा प्रविधिमैत्री रुपमा भेडापालन विकास गर्न सके गुर्जालाई भेडापालनको ‘हव’ बनाउन सकिन्छ । जिल्लामा भेडापालनको क्षेत्रमा भविष्य खोजेका कृषकलाई ब्यवसायिक ज्ञान, सिप र अनुदानमा प्राथमिकता दिनुपर्ने देखिन्छ ।