विकासमा नमुना : सरकारी बजेटको स्टीमेटभन्दा तेब्बर बढी पदमार्ग निर्माण (तस्बिर र भिडियो)

  • २८ बैशाख २०७६, शनिबार
  • कमल खत्री
  • 3213 पटक पढिएको

म्याग्दी, २८ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँट स्थित माछेखोलामा पदमार्ग निर्माणमा सरकारी बजेटको तेब्बर बढी लागतमा पदमार्ग बनाएका छन् । वडा कार्यालयको सिफारिसमा गाउँपालिकाबाट विनियोजन भएको रु ५० हजार बजेटबाट पदमार्ग बनाउन सुरु गरेका माछेखोलाबासीले सरकारी बजेटको लागतस्टीमेट भन्दा तेब्बर बढी काम गरेका हुन् ।

मौवाफाँटको मसिनाचोक देखि मौवाफाँट हुँदै भगवती जोड्ने मोटरबाटोसम्म माछेखोलाको किनारमा साँघुरो डोरोमा ढुंगा चिनेर पदमार्ग बनाईएको उपभोक्ता समितिका अध्यक्ष गोपाल शर्माले बताउनुभयो । उहाँका अनुसार, ६ जना व्यक्तिहरुले करिब ४० दिन समय खर्चिएर पदमार्ग बनाएका हुन् ।

सरकारी बजेटले थोरै मात्रै पदमार्ग बन्ने भएपनि आफुहरुले स्थानीयबासीलाई दैनिक आवत जावत हुने सो बाटोलाई अल्पत्र नबनाउने उदेश्यले महिनाबढी समय पदमार्ग बनाउन खर्चिएको उहाँले बताउनुभयो । पदमार्ग निर्माणमा उपभोक्ता समितिका अध्यक्ष शर्मा सहित, राजिन खत्री, सुरेश खत्री, अर्जुन रिजाल , रमेश रिजाल र इन्द्र बहादुर केसीले नियमित परिचालन हुनुभएको थियो ।

बर्षातको समयमा खोला बढेपछि माछेखोलाका स्थानीयले जिल्ला सदरमुकाम आउनको लागि समेत घुमाउरो बाटो हिड्नुपर्ने बाध्यता थियो । अहिले खोलाको किनारमा परम्परागत रुपमा आवत जावतको लागि प्रयोग गरिँदै आईएको ठाउँमा ढुंगा चिनेर पदमार्ग बनाएपछि बर्षातको समयमा समेत बालबालिकादेखि बृद्धबृद्धासम्म सहज रुपमा आवत जावत गर्न सक्ने सुविधा बनेको छ ।

खोलाको छेउछाउ पदमार्ग बनाइएकाले खोला तर्नुपर्ने स्थानमा ढुंगाकै फड्के समेत बनाइएको छ । मसिनाचोकमा मोटरबाटोबाट माछेखोलातर्फ जाने स्थानमा भने वारपारको लागि सानो फड्के उपयुक्त नहुने भएकाले आबश्यक सहयोगको लागि गाउँपालिका र वडा कार्यालयमा सहयोगको लागि अनुरोध गरिएको उपभोक्ता समितिका अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l