अन्नपूर्णको वडामा मेलमिलाप केन्द्र स्थापना
- २५ बैशाख २०७६, बुधबार
- 2278 पटक पढिएको
बेनी २५ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा स्तरमा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । गाउँपालिकाको न्यायिक समितिले वडा कार्यालयसंग समन्वय गरेर स्थानीय स्तरमा मेलमिलापको माध्यमबाट बिवाद निरुपण गर्ने उद्देश्यले केन्द्र स्थापना गरेको हो ।
८ वटा वडामा केन्द्र स्थापना भइसकेको न्यायिक समितिका सदस्य वुद्धी पुनले जानकारी दिएका थिए । दोवा, भुरुङ–तातोपानी, दाना, नारच्याङ, हिस्तान र राम्चेमा मेलमिलाप केन्द्र स्थापना भएको छ । शिख र घारमा मंगलबार स्थापना गरिएको सदस्य पुनले बताए । मेलमिलाप केन्द्रमा विभिन्न ११ प्रकारका बिवाद निरुपण गर्न पाउने व्यवस्था छ ।
पशु चौपाया, वृद्धबृद्धालाई खान लाउन नदिएको, साँध सिमाना, ज्याला नदिएको जस्ता गुनासो तथा उजुरी मेलमिलाप केन्द्रमा गर्न सकिन्छ । वडामै बिवाद निरुपण र मेलमिलाप गर्दा न्यायिक समितिको कार्यबोझ घट्नुका साथै अन्य निकायमा जानु पर्ने अवस्था नहुने गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक केशमाया मगरले बताए ।
मेलमिलाप केन्द्र सञ्चालनका लागि सबै वडामा ३२ जना मेलमिलापकर्ता सूचिकृत भएका छन् । उनिहरुलाई विभिन्न चरणमा तालिम दिइएको थियो । उपाध्यक्ष मगरको संयोजकत्वमा पुन र घारका वडा सदस्य रविन्द्र गर्बुजा सदस्य रहनुभएको न्यायिक समिति गठन भएको छ ।