आगोले जलेर घाइते भएकी बालिकालाई गाउँपालिकाको सहयोग

  • २४ बैशाख २०७६, मंगलवार
  • 1866 पटक पढिएको

बेनी २४ बैशाख । धवलागिरी गाउँपालिकाले आगोले जरेर घाइते भएकी बालिकाको उपचारका लागि आर्थिक सहयोग गरेको छ ।धवलागिरी गाउँपालिका ७ ताकमको रात्माताका दृष्टिविहीन जलन र सुस्मिता बिककी तीन वर्षीया छोरी इच्छाको उपचारका लागि गाउँपालिकाले बीस हजार रुपैयाँ सहयोग गरेको हो ।

अध्यक्ष थमसरा पुनको निर्देशन अनुसार गाउँपालिकाका प्राबिधिक जनक धानुकले मंगलबार सहयोग रकम बराबरको चेक र दुई थान कम्बल इच्छाका बुवा जलनलाई हस्तान्तरण गर्नुभएको छ । यसैगरी धवलागिरी गाउँपालिका स्तरीय संयुक्त दलित राजनीतिक संघर्ष समितिको तर्फबाट सचिव होसीयारसिङ विश्वकर्माले दुई हजार रुपैयाँ उपलब्ध गराउनुभएको थियो ।

हजुरआमा बिसमती बिकका अनुसार गत माघ १५ गते घरको चुल्होको आगो कपडामा सल्कीएर इच्छाको दुवै खुट्टा जलेका थिए । बेनी, पोखरा र भरतपुरको अस्पतालमा करिब दुई महिना उपचार पछि एउटा खुट्टा निको भएको छ भने बाँया खुट्टाको घाउ अझै निको हुन सकेको छैन् । सदरमुकाम बेनीसँगै रहेको जलजला गाउँपालिकाको लामाखेतमा बस्दै आएका दृष्टिबिहीन दम्पतिको आयस्रोत र घरको कमजोर अवस्थाका कारण उपचारमा समस्या भएको गियो । हाल उनिहरु ताकममै बस्न थालेका छन् ।