प्रअमाथि कुटपिटमा संलग्न दुई जना पक्राउ
- २२ बैशाख २०७६, आईतवार
- 2533 पटक पढिएको
बेनी २२ बैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका ५ मल्कवाङको भेडिखाल्टामा जातीय विभेदका आधारमा प्रधानध्यापक माथि नै कुटपिट गर्ने दुई जना पक्राउ परेका छन् । जनज्योती आधारभूत विद्यालयका प्रधानाध्यापक रघुगंगा गाउँपालिका ८ का ४२ वर्षीय रेशबहादुर विश्वकर्मालाई जातिय विभेद गर्दै कुटपिट गर्ने स्थानीय बलबहादुर रोका र जितेन्द्र जुग्जालीलाई प्रहरीले पक्राउ गरेको हो ।
आईतवार पक्राउ परेका रोका र जुग्जालीलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि अनुसंधान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी प्रहरी निरिक्षक ध्रुव प्रसाद शर्माले जानकारी दिनुभयो । जातिय आक्षेप आउने खालका शब्दहरु प्रयोग गरि गालिगलौज र हातपात समेत गरि विकलाई घाईते बनाएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पिडितको किटानी जाहेरीका आधारमा कुटपिटमा संलग्न रोका र जुग्जाली विरुद्ध प्रहरीले जिल्ला अदालतमा जातीय छुवाछुत सम्बन्धी मुद्दा दर्ता गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पार्वती पूर्जाको घरमा स्थानीय अगुवाहरुसंग विद्यालय सञ्चालनको विषयमा छलफल गरिरहेको अवस्थामा रोका र जुग्जालीले दलित भएर मगरको घरभित्र पसेको आरोप लगाउँदै प्रअ विकमाथि गत वैशाख ५ गते आक्रमण गरेर घाईते बनाएको पिडित विकको भनाई छ ।
विद्यालय सञ्चालनकै बिषयमा छलफलमा बसेको समयमा आफुमाथि दलित भएकै कारण जातिय विभेद हुने अपशब्द बोल्दै लतारेर आगनबाट खसाल्दा खुट्टामा गम्भिर समस्या आएपछि मणिपाल शिक्षण अस्पतालमा उपचार गरि फर्किएको प्रअ विश्वकर्माले बताउनुभयो । वैशाख ६ गते बेनी आउनुभएका विश्वकर्मालाई ८ गते बेनी अस्पतालले थप उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल रिफर गरेको थियो । बैशाख ७ गते छोरा दिप्सन मार्फत जिल्ला प्रहरी कार्यालयमा जाहेरी पठाएपनि १५ गते मात्र दर्ता भएको हो ।
जातीय छुवाछुत सम्बन्धी मुद्दामा एक वर्ष कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । यस घटनामा संयुक्त राजनीतिक दलित संघर्ष समिति म्याग्दीले समेत जातिय विभेद गरि शिक्षकमाथि कुटपिट भएको घटनाप्रति गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।