नेकपाको बेनी नगरमा केसी र थापा

  • २२ चैत्र २०७५, शुक्रबार
  • 1804 पटक पढिएको

बेनी २२ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बेनी नगरपालिका र वडा कमिटिहरुको एकता प्रक्रिया सकिएको छ । नेकपा पार्टी कार्यालयमा बिहीबार भएको भेलाले शेरबहादुर केसी अध्यक्ष र राजकुमार थापा सचिव रहेकोे ५७ सदस्यीय नगर कमिटि गठन गरेको छ । केसी पूर्व माओवादी केन्द्र र थापा पूर्व एमालेका नेता हुनुहुन्छ । पुलाचौर बाहेक नगरपालिकाको ९ वटै वडामा पनि कमिटि गठन भएको छ ।

रत्नेचौरमा पदमबहादुर रावल अध्यक्ष, सेते किसान सचिव, ज्यामरुककोटमा कृष्णबहादुर कार्की अध्यक्ष, डम्मर सापकोटा सचिव, भकिम्लीमा खिमबहादुर पुन अध्यक्ष, डिलबहादुर थापा सचिव, सिंगामा अणबहादुर खड्का (भगवान) अध्यक्ष र कृष्ण खड्का सचिवमा चयन भएका छन् ।

बेनपा ६ मा गणेशबहादुर बानिया अध्यक्ष, यादव सुवेदी सचिव, ७ मा लक्ष्मण शर्मा अध्यक्ष, कृष्ण बानिया सचिव, ८ मा ठाकुरप्रसाद शर्मा अध्यक्ष, खेम केसी सचिव, घतानमा रुद्र रेग्मी अध्यक्ष, झकल बिक सचिव, पात्लेखेतमा कृष्ण मल्ल अध्यक्ष र केशबहादुर बस्याल सचिवमा चयन हुनुभएको छ । बेनपा ५ पुलाचौरको नेतृत्व भने शुक्रबार चयन गरिने भएको छ ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबिच एकता घोषणा भएको करिब एक वर्षपछि म्याग्दीका स्थानीय तहमा एकता प्रक्रियाले तिब्रता पाएको छ । जिल्ला संयन्त्रको बैठकले बेनी नगरपालिका र धवलागिरी गाउँपालिकामा पूर्व माओवादीले नेतृत्व गर्ने निर्णय गरेको थियो ।

मालिका, मंगला, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा पूर्व एमाले ले नेतृत्व पाउने निर्णय भएको थियो । तत्कालीन माओवादी केन्द्रको नगर कमिटि अध्यक्ष केसी जिल्ला समन्वय समिति म्याग्दीको सदस्य हुनुहुन्छ । सचिव थापा तत्कालीन एमाले जिल्ला कमिटिको सचिवालय सदस्य हुनुहुन्थ्यो ।