पर्सा र बाराका हावाहुरी पीडितलाई दिदी बहीनी सहकारीको सहयोग
- २० चैत्र २०७५, बुधबार
- 2513 पटक पढिएको
बेनी, २० चैत । म्याग्दी सदरमुकाम बेनीमा महिलाहरुको मात्रै लगानी र व्यवस्थापनमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले बारा र पर्साका हावाहुरी पिडितका लागि आर्थिक सहयोग गरेको छ । ६२ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा जिल्ला सहकारी संघले बेनीमा आयोजना गरेको कार्यक्रममा सहकारीले सो सहयोग प्रमुख जिल्ला अधिकारी मार्फत पठाएको हो ।
सहकारीको मुठ्ठीदान अभियान अन्तरगत संस्थाका सदस्यहरु मार्फत संकलन भएको रु ३३ हजार ३ सय ३३ रुपैयाँ संस्थाकी अध्यक्ष ज्योती लामीछानेले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थाममाया थापा मार्फत जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक समेत रहनुभएका प्रजीअ लीलाधर अधिकारीलाई हस्तान्तरण गर्नुभएको थियो । सो सहयोग प्रजिअ अधिकारी मार्फत संघीय सरकारको राहत कोषमा जम्मा गरिनेछ ।
सो अवसरमा सहकारीले मुठ्ठीदान अभियानबाटै उपचारमा आर्थिक अभाबको सामाना गरिरहेकी एक मजदुर महिलालाई रु पाँचा हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ । श्रीमानको कुटाइबाट घाइते भएकी धवलागिरी गाउँपालिका ६ मराङकी डिलमाया सुनारको उपचारका लागि सो सहयोग हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा जिल्ला सहकारी संघ र संघका अध्यक्ष दिपक कार्कीले आफ्नो छोराको जन्मदिनको अवसर पारेर नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले स्थापना गर्न लागेको अक्षयकोषमा दश/दश हजार रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको छ ।
