दरवाङ–म्याग्दीखोलामा एकै दिन तीन करोड बढी संस्थापक सेयर
- १८ चैत्र २०७५, सोमबार
- 2493 पटक पढिएको
बेनी १८ चैत । म्याग्दीको मालिका गाउँपालिकामा निर्माण हुन लागेको २५ मेगावाट क्षमताको दरवाङ–म्याग्दीखोला जलविद्युत आयोजनामा स्थानीयबाट एकै दिन तीन करोड रुपैयाँ भन्दा बढी सेयर रकम संकलन भएको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेडले सोमबार बेनीको बिरेन्द्र चोकमा सम्र्पक कार्यालय स्थापना गरेकै दिन तीन करोड दश लाख रुपैयाँ संस्थापक सेयर संकलन भएको कम्पनीका अध्यक्ष बिनोद कुँवरले बताउनुभयो ।
एक महिनासम्म न्युनतम पचास हजार रुपैयाँ बराबरको सेयर लगानी गर्न पाउनेछन् । बीस करोड रुपैयाँ जिल्लाबासीबाट संस्थापक सेयर जुटाउने अध्यक्ष कुँवरले बताउनुभयो । बेनीका ब्यवसायी राजेश शाक्यले एक करोड रुपैयाँ सेयर लगानी गर्नुभएको छ । बेनी नगरपालिका र म्याग्दीका अन्य स्थानीय तहका बासिन्दाहरुको अपेक्षा अनुसार उनिहरुको सहजताका लागि बेनीमा सम्र्पक कार्यालय स्थापना गरेर संस्थापक सेयर जुटाउन थालिएको अध्यक्ष कुँवरले बताउनुभयो ।
सम्र्पक कार्यालय र संस्थापक सेयर संकलन गण्डकी प्रदेशका सांसद बिनोद केसी, पूर्व सांसद नवराज शर्मा, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष प्रमोद श्रेष्ठ, नेपाली काँग्रेस म्याग्दीका सचिव मिनबहादुर कार्की, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य लगायतको उपस्थितीमा सुरुवात गरिएको थियो । एक अरब १५ करोड रुपैयाँ संस्थापक शेयर पुँजीमा जिल्लाबासीलाई पनि समेट्ने प्रयास गरिएको हो । पाँच अरब १५ करोड रुपैयाँ कूल लागत अनुमान गरिएको आयोजनामा सानिमा बैङ्कको नेतृत्वमा प्रभु, कुमारी, सेञ्चुरी, महालक्ष्मी र मुक्तिनाथ बैंकले अधिकतम ७० प्रतिशत लगानी गर्ने सम्झौता भएको छ ।
४५ करोड रुपैयाँको साधारण सेयर आयोजना अन्तिम चरणमा पुगेपछि जुटाइने छ । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाले वार्षिक १५ करोड युनिट विद्युत उत्पादन गर्ने जनाइएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरीयाका पूर्व अध्यक्ष तथा म्याग्दी प्रवासी नेपाली संघ (मोना)का पूर्व बरिष्ठ उपाध्यक्ष कुँवरको नेतृत्वमा बन्न लागेको आयोजनामा कोरीया, जापान, अमेरीका, हङकङ, बेलायत लगायत देशमा रहेका प्रवासी म्याग्देलीको लगानी छ ।
पूर्वाधार निर्माणको पूर्व तयारीमा रहेको आयोजनाले आगामी जेठ देखि सुरुङ, पहुँचमार्ग, बाँध र विद्युतगृह निर्माणको काम सुरु गर्ने तयारी गरेको छ । सडकको पहुँच पुगेको र प्रशारण लाइन निर्माण हुन लागेको, अनुकुल भुगोल लगायतका कारणले यो आयोजना तोकिएकै समयमा सम्पन्न हुने र लगानीकर्तालाई पर्याप्त मुनाफा दिन सक्ने प्रर्वद्धकहरुको भनाई छ ।
दरवाङ, देविस्थान, ताकम र बिमको सिमा क्षेत्रमा पर्ने फेदीमा बाँध रहने आयोजनाको पाँच किलोमिटर सुरुङ र बालौटेमा विद्युतगृह रहनेछ । यस आयोजनाबाट उत्पादीत विद्युत बिमको डाँडाखेत सब स्टेशनबाट केन्द्रिय प्रशारण लाईनमा जोडिने भएको छ । नेपाल विद्युत प्राधिकरणले डाँडाखेतमा सब स्टेशन र त्यहाँदेखि राहुघाटसम्म प्रशारण लाइन निर्माणको प्रक्रिया अघि बढाएको छ ।