हिउँ पन्छ्याउँदै विकास निर्माणको काममा जुटे गुर्जाली

  • १४ चैत्र २०७५, बिहीबार
  • 2933 पटक पढिएको

म्याग्दी, १३ चैत । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका स्थानीय हिउँ पन्छ्याउँदै विकास निर्माणमा जुटेका छन् । गुर्जा, चुरेन र पुथा हिमालले घेरिएको गुर्जामा यो बर्ष भारी हिमपातको कारण अहिलेसम्म पनि हिउँ पूर्ण रुपमा नपग्लीएकाले स्थानीयले हिउँ पन्छ्याएरै भएपनि विकास निर्माणमा जुटेका हुन् ।


वडाको सिफारिसमा गाउँपालिकाबाट बजेट विनियोजन भएका योजनाहरुको कार्यान्वनयको लागि प्रतिकुल मौसमको बावजुत पनि उपभोक्ता समिति जुटेको वडा अध्यक्ष झक बहादुर छन्त्यालले जानकारी दिए । ‘‘ हिउँ नपग्लीएको कारण चिसो अत्यधिक छ, विकास निर्माण योजनाहरु समयमै सम्पन्न गर्न विहान देखि बेलुका सम्म नै स्थानीयबासी र उपभोक्ता समिति लागिपरेका छन्’’–वडा अध्यक्ष छन्त्यालले भने ।


उनका अनुसार, योजनाहरुको गुणस्तर र मापदण्ड बमोजिम पूर्वाधार गर्नको लागि वडाका जनप्रतिनिधिहरुले नियमित अनुगमन समेत गरिरहेका छन् । अहिले खेलमैदान निर्माण, गाउँभित्रको ठाडोखोल्साको कुलो व्यवस्थापन, ढल व्यवस्थापन, स्वास्थ्य चौकी मर्मत र घेरावार, विद्यालयको छानो मर्मत लगायतका योजनाहरुको काम भैरहेको वडा कार्यालयले जनाएको छ ।

यो बर्ष गुर्जामा खेलमैदान निर्माणको लागि रु ५ लाख, गाउँ प्रवेश गर्ने ठाडोखोल्सामा कुलो व्यवस्थापनको लागि रु ११ लाख बजेट विनियोजन भएको छ । त्यसैगरि चुरेन हिमालको आधार शिविर जाने बाटोमा तल्लो झिमादेखि आधारशिविर तर्फ पदमार्ग निर्माणको लागि रु १० लाख बजेट विनियोजन भएको छ ।

लुलाङ हुँदै गुर्जा जाने बाटोमा देउराली नजीकैको वनथानदेखि लत्रबाङ सम्मको गोरेटो बाटो मर्मत र पदमार्ग निर्माणको लागि रु ११ लाख , गाउँमा ढल निकासको लागि रु ६ लाख , स्वास्थ्य चौकी भवन मर्मत र घेरावारको लागि रु १५ लाख , जनकल्याण माविको छानो मर्मत र घेरावारको लागि रु १२ लाख बजेट विनियोजन भएको गाउँपालिकाले जनाएको छ ।
धवलागिरी गाउँपालिकामा चालु आवको लागि १२० वटा भौतिक पूर्वाधारतर्फका योजना छनौट भएकोमा अहिलेसम्म ७० प्रतिशत योजना सम्झौता भएर कार्यान्वयन चरणमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले बताए । गाउँपालिकाले असारे विकासलाई अन्त्य गर्ने लक्ष्य लिएको छ ।