अर्मनमा सडक विस्तार सुरु

  • ८ चैत्र २०७५, शुक्रबार
  • 2415 पटक पढिएको

सिजन रोका
बाबियाचौर ७ चैत । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर देखि बागलुङको ताराखोला गाउँपालिका जोड्ने सडक स्तरोन्नति सुरु भएको छ । संघीय सरकारको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम मार्फत बाबियाचौर देखि ताराखोला जोड्ने सडक अन्तरगत मंगला ५ मा पर्ने पोक, नेता, अर्मन, किमचौर हुदै देउराली खण्डमा स्तरोन्नति गर्न लागिएको छ ।

संघीय सांसद भुपेन्द्रबहादुर थापाको सिफिरिसमा मंगला गाउँपालिका मार्फत सञ्चालन भएको यो आयोजनामा पचास लाख रुपैयाँ बजेट बिनियोजन भएको छ । सडक फराकिलो बनाउने, घुम्ती र ग्रेड सुधार गर्ने, नाली, पर्खाल निर्माण, सोलीङ गरिने उपभोक्ता समितिका अध्यक्ष मोहदत्त कडेलले जानकारी दिनुभयो ।

स्तरोन्नति गरेर सडकलाई सात मिटर फराकिलो बनाउने योजना छ । करिब आठ वर्ष स्थानीयबासी, तत्कालीन गाविस र जिविसले बाबियाचौर हुदै ताराखोला जोड्ने करिब बीस किलोमिटर सडकको ट्याक खोलेका थिए ।ट्याक मात्र खुलेको सडकमा हिउँदमा मात्र साना प्रकृतिका सवारी साधन सञ्चालन हुने गरेका छन् । सडक स्तरोन्नति गरेर बाह्ै महिना नियमित र सहज रुपमा सवारी साधन सञ्चालन गर्न सकिने बनाउन लागिएको गाउँपालिकाले जनाएको छ ।

यो सडक विस्तार र स्तरोन्नतिका लागि संघिय सरकारबाटै चालू आर्थिक वर्षमा थप एक करोड बिनियोजन भएको छ । उक्त बजेट भने सडक डिभिजन कार्यालय बागलुङले ठेक्का मार्फत कार्यान्वयन गर्ने जनाइएको छ ।

सडक सुधार भएपछि मंगला गाउँपालिकाको पोक, नेता, किमचौर, अर्मनका साथै बागलुङको ताराखोलाका बासिन्दालाई आवत जावत र ढुवानीमा सुबिधा पुग्नेछ । यसैगरी सडक डिभिजन कार्यालय बागलुङले बाबियाचौर र अर्मन जोड्ने म्याग्दी नदीमा ८० मिटर लामो मोटरेबल पुल पनि निर्माण सुरु गरेको छ ।