हाँडेभिर–बरंजा सडक आयोजना सुरु

  • ६ चैत्र २०७५, बुधबार
  • 2137 पटक पढिएको

सन्तोष गौतम
बेनी ६ चैत । म्याग्दीको सदरमुकाम बेनी देखि मंगला गाउँपालिकाको ३ र ४ नम्बर वडामा पर्ने बरंजा जोड्ने हाँडेभिर–बगरफाँट–सुर्केमेला–बरंजा–किमचौर सडक ट्याक खुलेको एक दशकपछि स्तरोन्नति थालिएको छ । गण्डकी प्रदेश सरकार अन्तरगतको पूर्वाधार विकास कार्यालय म्याग्दीले बेनी नगरपालिका २ मा पर्ने हाँडेभिरदेखि बेनपाको बगरफाँट सुर्केमेला थामडाडाँ हुँदै बरंजा जोड्ने सडक स्तरोन्नतिका लागि उपभोक्ता समिति मार्फत काम सुरु गरेको हो ।


प्रदेश सरकारले बिनियोजन गरेको पचास लाख रुपैयाँ बजेटबाट विभिन्न ठाउँमा सडक फराकिलो बनाउने, ग्यावियन पर्खाल लगाउने, कजवे बनाउने, घुम्ति तथा मोड, ग्रेड सुधारका साथै ग्राभेल र सोलीङ गरिने उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर गुरुङले बताउनुभयो ।
‘चालीस प्रतिशत सडक विस्तार र साठी प्रतिशत काम संरचना निर्माण गर्ने सम्झौता भएको छ’ अध्यक्ष गुरुङले भन्नुभयो ‘पहिलो चरणमा बरगरफाँट देखि नयाँपुल खण्डको सडकलाई ६.२५ मिटर फराकिलो बनाउने काम भैरहेको छ ।’

२०७५ फागुन १५ गते सम्झौता भएको योजना २०७६ जेठ १५ मा सम्पन्न गर्ने लक्ष्य छ । साँघुरो र उकालो भएर ग्रेड नमिलेको ठाउँमा करिब ६०० मिटर नयाँ ट्याक खोलीने भएको छ । थामडाँडा, रत्नेखोला र बाहुनडाँडामा मोड सुधार गर्न ट्याक परिवर्तन गरिने उपभोक्ता समितिले जनाएको छ । नयाँपुल क्षेत्रमा ३०० मिटर, कोप्रेमा २२० मिटर र दूधेखोलाको भकिम्ली जाने सडकको चोकमा ८० मिटर सडक ग्राभेल हुने भएको छ । आव्रेखोलामा १३ मिटर लम्बाई र ५.५ मिटर चौडाई भएको कजवे निर्माण गरिने पूर्वाधार विकास कार्यालयका सब इञ्जिनियर घनश्याम रोकाले बताउनुभयो ।

सबइञ्जिनियर रोकाका अनुसार सडकको विभिन्न ठाउँमा एक हजार ८१६ धनमिटर ग्यावीयन पर्खाल, एक हजार २५० मिटर ग्राभेल र १४८ मिटरमा ढुङ्गा बिछ्याएर सोलीङ गरिने उहाँले बताउनुभयो । यो सडक प्रदेश सरकारको (ग) वर्गको आयोजना हो । सडक स्तरोन्नति भएमा बेनी नगरपालिकाको बगरफाँट, भकिम्ली, सुर्केमेला, थामडाँडा र मंगला गाउँपालिकाको बरंजाका तीन हजार भन्दा बढी घरधुरी लाभान्वित हुने बेनपा ४ का वडा सदस्य देवबहादुर घलेले बताउनुभयो । वि.स २०६५ मा ट्याक खुलेको यो सडक सामान्य मर्मतको भरमा सञ्चालन हुदै आएको थियो । सडक स्तरोन्नति गरेर बाह्ै महिना नियमित सवारी सञ्चालन गर्न आयोजना सञ्चालन गरिएको हो ।