काँग्रेस सभापति देउवाद्धारा मोहनचोकमा पार्टी कार्यालय भवन शिलन्यास
- २७ फाल्गुन २०७५, सोमबार
- 2247 पटक पढिएको
सन्तोष गौतम
मोहनचोक २७ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार जलजला गाउँपालिका ४ मोहनचोकमा पार्टी कार्यालय भवन शिलन्यास गर्नुभएको छ । मल्लाजका अगुवा स्वर्गीय मोहनबहादुर मल्लको स्मृतिमा नेपाली काँग्रेस जलजला गाउँपालिकाले निर्माण गर्न लागेको भवनको सभापति देउवाले एक समारोहका बीच शिलन्यास गर्नुभएको हो ।
भवन निर्माणका लागि मल्लका परिवारले करिब सत्र मिटर लम्बाई र १५ मिटर चौडाई भएको जग्गा निशूल्क उपलब्ध गराउनुभएको नेपाली काँग्रेस जलजला गाउँपालिका ३ का संयोजक समेत रहनुभएका वडा अध्यक्ष रवी भण्डारीले जानकारी दिनुभयो ।
शिलन्यासपछि सभापति देउवाले सरकारले कार्यशैली सुधार नगरे आन्दोलनमा उत्रने चेतावनी दोहो¥याउनुभयो । केपी ओली प्रधानमन्त्री भएका एक वर्षसम्म सरकारले केही गर्छकी भन्ने अपेक्षा गरेपनि सम्झन लायक एउटा पनि काम गर्न नसकेको टिप्पणी गर्नुभयो । सभापति देउवाले सरकारनै बलात्कारी, हत्याराको संरक्षणमा लागेको आरोप लगाउँदै सरकारको गैरजिम्मेवारीका कारण देशको शान्ति सुरक्षा, लगानीको वातावरण बिथोलिएको बताउनुभयो ।
सभापती देउवाले आन्तरिक एकतालाई बलियो बनाएर कम्प्युनिष्ट सरकारको गलत कामको विरुद्ध आन्दोलनमा उत्रिएर देशलाई भ्रष्ट्राचार मुक्त र सुरक्षित बनाउन आवश्यक रहेको बताउनुभयो । काँग्रेसका प्रवत्ता विश्वप्रकाश शर्माले सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनसँग सरकारले गरेको सम्झौताको बारेमा सरकारको धारणा माग गर्नुभयो । सरकारको दावी विपरित राउतले गतिबिधि गरेको बताउँदै प्रवत्ता शर्माले प्रधानमन्त्री ओलीले सम्झौताको बारेमा स्पष्ट पार्नुपर्ने बताउनुभयो ।
उहाँले देशलाई बिखण्डन गर्ने सम्झौता र सहमती काँग्रेसलाई सह्य नहुने बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, नेता भवानीशंकर पौडेल, नवराज गुरुङ, जिल्ला सभापति खिमप्रसाद भुषाल, जग्गादाता प्रकाशबहादुर मल्लले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
नेपाली काँग्रेस जलजलाका संयोजक चन्द्रबहादुर जिसीको अध्यक्षता, गाउँपालिकाका अध्यक्ष तथा जिल्ला कोषाध्यक्ष यामबहादुर मल्लको स्वागत मन्तब्य, नेता नविन जिसी र चित्रराज रेग्मीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।