कांग्रेस नेता देउवा र पौडेलले मारे तातोपानीमा डुबुल्की

  • २५ फाल्गुन २०७५, शनिबार
  • 2004 पटक पढिएको

म्याग्दी, २५ फागुन । बेनी नगरपालिका–४ सिंगा तातोपानीमा रहेको प्राकृतिक चिकित्सालयको रुपमा परिचित तातोपानी कुण्डमा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले स्नान गर्नुभएको छ । म्याग्दी, बागलुङ र पर्वतमा पार्टीको कामको शिलसिलामा आउनुभएका नेताद्धयले शनिवरा म्याग्दीको तातोपानी कुण्डमा स्नान गर्नुभएको हो ।

हेलिकप्टरमार्फत म्याग्दी आउनुभएका नेताद्वय देउवा र पौडेल स्थानीय नेता तथा कार्यकर्तासहित तातोपानी कुण्डमा पुग्नुभएको थियो । कुण्डमा उहाँहरुले कांग्रेस म्याग्दीका सभापती खमवीर गर्वुजा सहित जिल्लास्तरका नेताहरुसँगै स्नान गर्नुभयो । कुण्डमा स्नान गरेपछि सभापति देउवाले तातोपानी कुण्डमा डुब्दा आफूलाई आनन्दको महशुस भएको बताउँदै यो क्षेत्रलाई स्वास्थ्य र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने बताउनुभयो । तातोपानी कुण्ड स्नान गर्नुपूर्व नेताद्वयले कुण्ड परिसरको अवलोकन समेत गर्नुभएको थियो । तातोपानी कुण्ड व्यवस्थापन समितिले नेताद्वयलाई कुण्डमा स्वागत गरेका थिए ।

उहाँहरुलाई कुण्ड र तातोपानी क्षेत्रको बारेमा जानकारी गराउँदै कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले बेनीदेखि तातोपानीसम्म पुग्ने सडकको स्तरोन्नति गर्नुपर्ने, कुण्डको व्यवस्थापन र पूर्वाधार निर्माणका लागि सम्बन्धित निकायमा पहल गरिदिन आग्रह गर्नुभयो । अध्यक्ष शाक्यले कुण्डको वर्तमान अवस्थाको बारेमा जानकारी गराउँदै तातोपानी कुण्डबाट प्राप्त आम्दानी तातोपानीको सरस्वती माध्यमिक विद्यालयका ११ जना शिक्षक कर्मचारीको तलब/भत्ता व्यवस्थापनमा सहयोग गर्ने गरिएको बताउनुभयो ।

यसअघि गएको कात्तिक अन्तिम साता नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र गृहमन्त्री रामबहादुर थापा आफ्नो परिवारसहित म्याग्दी आएर तीन दिनसम्म तातोपानी कुण्डमा स्नान गर्नुभएको थियो । उहाँहरुको स्नानसँगै देश विदेशमा अहिले तातोपानी कुण्डको विषयमा व्यापक रुपमा प्रचारप्रसार भैरहेको छ । पछिल्लो समय म्याग्दीको तातोपानी कुण्ड प्राकृतिक चिकित्सालयका रुपमा विकसित हुँदै गैरहेको छ । यसपटक कांग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेलले गरेको तातोपानी कुण्डको स्नानलाई पनि जिल्लामा निकै महत्वका साथ हेरिएको छ ।

तस्बिर सौजन्य : प्रताब बानियाँ