बालमन्दिर आधारभुत विद्यालयको भवन पुननिर्माण (फोटो फिचर)
- १९ फाल्गुन २०७५, आईतवार
- कमल खत्री
- 3502 पटक पढिएको
कमल खत्री
म्याग्दी, १९ फागुन ।
म्याग्दीको बेनी नगरपालिका – ४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभुत विद्यालयको कक्षा कोठा भवन पुननिर्माण गरिएको छ । विद्युत सर्ट भएर आगलागी हुँदा दुई बर्ष अघि ध्वस्त भएको विद्यालय भवन करिब रु ८३ लाख बढी लगानीमा पुननिर्माण गरिएको हो । १० कोठे भुकम्पप्रतिरोधि विद्यालय भवन निर्माणमा दक्षिण कोरीयाको ग्लोबल एजुकेशन फर अल फाउण्डेशन रिपब्लीकले रु ४० लाख सहयोग गरेको छ । त्यसैगरि वडा कार्यालयको सिफारिसमा बेनी नगरपालिकाले दुई बर्षमा गरि कुल २८ लाख बजेट उपलब्ध गराएको छ ।
कोरियन संस्थाको सहयोग र नगरपालिकाकाको बजेट बाहेक स्वदेश तथा विदेशबाट विद्यालय पुननिर्माणमा जुटेको रु ३५ लाख ५५ हजार ८९५ रकमबाट विद्यालय भवन पुननिर्माण गरिएको विद्यालयका प्रधानध्यापक रामप्रशाद शर्माले जानकारी दिनुभयो ।भवन निर्माणमा अहिलेसम्म ८३ लाख ६ हजार २४४ रुपैयाँ खर्च भएको र भवनलाई पूर्ण रुपमा सम्पन्न गर्नको लागि थप १० देखि १२ लाख बजेट आबश्यक रहेको प्रअ शर्माले बताउनुभयो । भवनको अहिले स्ट्रक्चरको काम सकेर रंगरोगन र झयाल ढोका बनाउने भैरहेको छ ।
सो भवनको आईतवार उद्घाटन गरिएको छ । कार्यक्रममा कोरियाली सहयोगी संस्थाका अध्यक्ष डाक्टर जुङ तेई जी र बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले व्यानर अनावरण गरि भवन उद्घाटन गर्नुभएको थियो । हाल दक्षिण कोरीयामा रहनुभएका विद्यालयका पूर्व बिद्यार्थी समेत रहनुभएका म्याग्दी प्रवासी नेपाली संघ(मोना)का एशिया प्यासिफिक संयोजक बिनोद कुँवर र संगिता कार्की कुँवरको पहलमा ग्लोबल एजुकेशन फर अल फाउण्डेशन रिपब्लीक संस्थाले पुननिर्माणमा सहयोग गरेको हो ।
सहयोगी संस्था, नगरपालिका र सहयोगदाताहरु मार्फत विद्यालय भवन पुननिर्माणमा रु १ करोड २ लाख ८४ हजार ३२१ संकलन भएपनि भवन निर्माणको लागि जग्गा खरिदमा रु २१ लाख ३४ हजार ६३० खर्च भएको थियो । भवन उद्घाटन गर्दै सहयोगदाता कोरियाली संस्थाका अध्यक्ष डाक्टर जुङ तेई जीले आगलागीबाट भवन जलेपछि विद्यार्थीहरु खुला चौरमा बसेर पढ्नुपरेको खवर थापा पाएपछि आफुहरुले सहयोग गरेको बताउनुभयो । कार्यक्रममा बेनी नगरपालिकाका मेयर श्रेष्ठले विद्यालयको पुननिर्माणमा सहयोग गरेकोमा कोरियाली संस्था र अन्य सहयोगदाताहरुलाई आभार प्रकट गर्नुभयो ।
कार्यक्रममा बेनी नगरपालिका–४ का वडा अध्यक्ष गोविन्द पौडेल, कोरियाली संस्थाको सहयोग ल्याउन समन्वय गर्नुभएका विनोद कुँवर, ग्लोबल एजुकेशन फर अल फाउण्डेशन नेपालका अध्यक्ष उद्धपप्रसाद उप्रेतीले विद्यालय भवन पुननिर्माणले विद्यालयको शैक्षिक वातावरण सहज हुनेमा जोड दिनुभयो । उहाँहरुले पूर्वाधारको सुरक्षा र सहि उपयोगमा समुदायले समेत सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा सहयोगदाता कोरियाली संस्थालाई सम्मान समेत गरिएको थियो ।
२०७३ फागुन २५ गते साँझ विद्युत सर्ट भएर आगोलागी हुदाँ विद्यालयको आठ कोठे भवन ध्वस्त हुनुका साथै ९२ लाख रुपैया बराबरको क्षत्ती भएको थियो । कक्षा ८ सम्म पठनपाठन हुने सो विद्यालयमा १५४ जना विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर बानियाको अध्यक्षता, प्रअ शर्माको प्रतिबेदन प्रस्तुति, शिक्षक अर्जुन खत्रीको स्वागत र व्यवस्थापन समितिका सदस्य एवम आर्थिक संकलन समितिका संयोजक सुमन बानियाँको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l