प्रजातन्त्रप्रति प्रतिवद्ध छौ– सांसद थापा

  • ७ फाल्गुन २०७५, मंगलवार
  • 1824 पटक पढिएको

बेनी ७ फागुन । प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थापाले वर्तमान सरकार र संसद प्रजातन्त्रप्रति प्रतिवद्ध रहेको बताएका छन् ।प्रजातन्त्र दिवस मूल समारोह समिति म्याग्दीले ६९ औ प्रजातन्त्र दिवस तथा जिल्ला निर्वाचन कार्यालयले तेस्रो निर्वाचन दिवसको अवसरमा मंगलबार बेनीमा आयोजना गरेको कार्यक्रममा सांसद थापाले प्रजातान्त्रिक मूल्य र मान्यता अनुरुपनै सरकार तथा संसद चलेको बताएका हुन् ।

सांसद थापाले नेपाल संघीय गणतन्त्रात्मक शाषन व्यवस्था कार्यान्वयनको चरणमा रहेकाले प्राप्त राजनितिक उपलब्धिलाई संस्थागत, व्यवहारमा रुपान्तरण र जनताको जिवनमा परिवर्तन ल्याउन सबैले आफ्नो व्यवहार र आचारणमा सुधार ल्याउनुपर्ने बताए । उनले भड्कीलो चुनावका कारण भ्रष्ट्राचार र अनियमितता बढेकाले जनताले काम, योगदान र योजना अनुसार मतदान गरेर आफूले चाहेको व्यक्तिलाई जिताउने वातावरण बनाउन आवश्यक रहेका बताए ।

सो कार्यक्रममा सांसद थापाले म्याग्दीलाई हिमाली जिल्ला घोषणा गर्नका लागि प्रतिनिधिसभाबाट पारित भएको केही नेपाल संसोधन ऐन राष्ट्रिय सभामा पेश भएको जानकारी दिए । पूर्व सांसद नवराज शर्मा र गोविन्द पौडेलले राजनितिक अधिकार संबिधान मार्फत पुरा भएकाले त्यसको व्यवहारिक कार्यान्वयनसँगै जनताहरु आफ्नो दायीत्वप्रती जागरुक र राज्य जिम्मेवार बन्नुपर्ने बताए ।

प्रजीअ लीलाधर अधिकारीले निराशावादी प्रवृति त्याग्न र रचनात्मक तथा सकारात्मक भावनाको विकास गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेकपाका नेता हरिकृष्ण श्रेष्ठ, नेपाली काँग्रेस म्याग्दीका सचिव क्याप्टेन मिनबहादुर कार्की र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले जनअपेक्षा बुझेर काम गर्न सरकार तथा राज्यका संयन्त्रहरुलाई सुझाव दिएका थिए ।

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको अध्यक्षता, अधिकृत गोविन्द सुनारको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले स्वागतका साथै निर्वाचनको महत्वका बारेमा जानकारी गराएका थिए ।

समारोहअघि जिल्ला प्रशासन कार्यालय अगाडीको चोकदेखि सुरु भएको जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मीहरु सहभागि प्रभातफेरी बजार परिक्रमा गरेर कर्मचारी मिलन केन्द्रमा पुगी सभामा परिणत भएको थियो ।