अन्नपूर्ण गाउँपालिकामा ५ दिनदेखि विद्युत र सञ्चार सेवा अबरुद्ध

  • १६ माघ २०७५, बुधबार
  • 1938 पटक पढिएको

बेनी, १६ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा विगत ५ दिनदेखि सञ्चार सम्बन्ध बिच्छेद भएको छ । हिमपातको कारण विद्युत सेवा अबरुद्ध हुँदा सञ्चार सेवा प्रभावित बनेको हो ।

हिमपातले यस गाउँपालिकामा केन्द्रिय प्रशारण र स्थानीय तातोपानी साना जलविद्युत आयोजनाको विद्युत प्रशारण तथा वितरण लाईनमा क्षति पुर्‍याएको छ ।

विभिन्न ठाउँमा पोल ढलेको र तार चुडीएको कारण गाउँपालिकाको प्राय सबै बस्तीमा विद्यूत सेवा अबरुद्ध बनेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार, नेपाल टेलिकमको रिपिटर टावर रहेका ठाउँमा विद्यूत आपूर्ति बन्द हुँदा सञ्चार सेवा समेत प्रभावित बनेको छ ।

सञ्चार सम्बन्ध विच्छेद हुँदा खवर आदान प्रदान लगायतको काममा समस्या उत्पन्न भएको अन्नपूर्ण–६ पोखरेबगरका राजाराम बरुवालले जानकारी दिनुभयो ।