हिमपातले अस्थायी टहरा भत्काएपछि पठनपाठन प्रभावित
- १४ माघ २०७५, सोमबार
- 1905 पटक पढिएको
म्याग्दी १४ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेमा रहेको रितुङ्ग माध्यमिक विद्यालयमा नदी कटानले विद्यालय भवन बगाएपछि टहरामुनी बसेर अध्ययन गर्दै आएका विद्यार्थीहरु हिमपातले टहरा भत्काएपछि समस्यामा परेका छन् । निरन्तरको हिमपातले विद्यालय परिसरमा बनाईएका अस्थायी टहरा भत्काएपछि १ देखि ६ सम्मका बालबालिकाहरुलाई राखेर पठनपाठन गराउने ठाउँको अभाब भएको हो ।
गत भदौ २७ गते रघुगंगा नदीमा आएको भिषण बाढीले विद्यालय भवन बगाएपछि नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूको नेतृत्वमा बिद्यालय परिसरमा त्रिपाल टाँगेर बनाईएका अस्थायी टहरामा विद्यार्थीहरुलाई पठनपाठन गराउने गरिएको थियो । अस्थायी टहरा समेत भारी हिमपातले भत्काएपछि पठनपाठन प्रभावित बनेको विद्यालयका शिक्षक याम विश्वकर्माले बताउनुभयो ।
भवन अभाबमा टहरामा बसेर पठनपाठन गर्दै आएका विद्यार्थीहरुलाई न्यानो ठाउँमा राखेर पठाउने बन्दोबस्त हुन सकेको छैन् । हिमपातले भत्काएका टहरालाई विद्यार्थी र शिक्षकहरुले सामान्य मर्मत गरेका छन् । रघुगंगा नदीमा आएको बाढीले यस विद्यालयको ७ वटा कक्षाकोठामा पूर्ण क्षती भएको छ । अहिले केही विद्यार्थीलाई बाँकी रहेका भवनमा राखिएको भएपनि तर त्रिपालमुनी बसेर अध्ययन गर्नुपर्ने विद्यार्थीहरुलाई निकै कष्टकर हुने गरेको विद्यालयका प्रअ खिम बहादुर छन्त्यालले बताउनुभयो ।