ओडार भत्कँदा २ गोठालासहित २ सय भेडाबाख्रा पुरिए
- १३ माघ २०७५, आईतवार
- 2630 पटक पढिएको
धादिङ । हिमपहिरोले ओडार भत्कँदा दुई गोठालासहित झन्डै दुई सय भेँडाबाख्रा पुरिएका छन्। जिल्लाको उत्तरी क्षेत्र रुवीभ्याली ४ हिन्दुङमा आइतबार बिहान ओडार भत्किएको हो ।
बिहीबारदेखि परेको भारी हिमपातले गोठ पुरेपछि ४७ वर्षीय नुर्बु तामाङ र उनका १८ वर्षीय साला धनबहादुर तामाङले नजिकैको ओडारमा शरण लिएका थिए। उनीहरु सुतेकै अवस्थामा ओडारसमेत भत्काएको खबरले पैदन ५ घण्टा दूरीको सेर्तुङबाट प्रहरी टोली परिचालन गरिएको थियो।
हेलिकप्टरसहित अवलोकन गर्न पुगेका सहायक प्रजिअ धोलकराज ढकालले भने, ‘निकै ठूल्ठूला ढुङ्गा आएर ओडार नै पुरेको देखियो। केही थिचिएका बाख्रा बाहिरसम्म देखिन्छन्। उनले ढुङ्गा पन्छाउने अवस्था नरहेकोले थप मद्दतका लागि सदरमुकाम फर्केको बताए।
ठूला ढुङ्गा हटाउन सक्ने गरी विस्फोटन वा अन्य कुनै विकल्प अपनाउने परे पुन: औजारसहित सशस्त्र प्रहरीका डीएसपी दर्शन गिरीको नेतृत्वमा सोमबार टोली खटाउने जिल्ला सुरक्षा समितिले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले बताए। उनका अनुसार जिल्ला सुरक्षा समितिको निर्णयबारे गृह मन्त्रालयमा पत्राचार भइसकेको छ।
-कान्तिपुर