म्याग्दीमा १२ बर्षपछि भारी हिमपात (फोटो फिचर)
- १२ माघ २०७५, शनिबार
- कमल खत्री
- 4885 पटक पढिएको
बेनी १२ माघ । म्याग्दीमा भारी हिमपात भएको छ । १२ बर्षपछि यहाँ तल्लो पहाडी क्षेत्रसम्मै भारी हिमपात भएको हो । २०६३ साल फागुनमा जिल्ला सदरमुकाम बेनीमा समेत हिमपात भएको थियो । गयराती परेको बर्षासंगै सदरमुकाम बेनी आसपासका डाँडाहरु समेत हिमपातले सेताम्मे भएका छन् । हिमपातले अधिकाँश ग्रामीण सडकमा यातयात अवरुद्ध भएका छन् ।
तल्लो क्षेत्रसम्मै हिमपात भएपछि चिसोले जनजिवन प्रभावित भएको छ । चिसोको कारण कुनै अप्रिय घटना नहोस भन्ने उदेश्यले सुरक्षा निकाय मार्फत आबश्यक सर्तकता अपनाइएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिनुभयो ।
माथिल्लो भेगमा ४ फिट बढी र तल्लो क्षेत्रमा १ फिट सम्म हिमपात भएको छ । माथिल्लो भेगमा हिमपातले हिमपातले मानिसहरु घरबाट बाहिर निस्कन समेत सकेका छैनन् । निरन्तरको हिमपातले धारामा पानी जमेपछि समस्या भएको धौलागिरि गाउँपालिका १ गुर्जामा रहेको जनकल्याण माविका शिक्षक रुपेश सुवेदीले जानकारी दिनुभयो ।
माथिल्लो भेगमा हरेक बर्ष हिमपात हुने भएपनि तल्लो क्षेत्रमा भने १२ बर्षपछि मात्रै हिमपात भएपछि सर्वसाधारण खुसीले हिउँमै खेल्न थालेको रघुगंगा गाउँपालिका–२ सिजलगाउँका राम्जी भण्डारीले जानकारी दिनुभयो । (तस्बिर फेसबुकबाट)
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l