भकिम्लीका कृषकलाई किवीका बिरुवा वितरण
- ११ माघ २०७५, शुक्रबार
- 2297 पटक पढिएको
बेनी ११ माघ । बेनी नगरपालिका ३ भकिम्लीमा व्यवसायिक किबी खेती विस्तारका लागि कृषकहरुलाई निशूल्क बिरुवा वितरण गरिएको छ । केही वर्षअघि परिक्षणका लागि गरिएको किबी खेती सफल भएपछि बेनी नगरपालिकाको सहयोगमा वडा कार्यालयले कृषकहरुलाई निशूल्क किबीका बिरुवा वितरण गरेको हो । ४२ घरधुरी कृषकहरुलाई ८१५ वटा कलमी गरिएका किबीका बिरुवा वितरण गरिएको वडा अध्यक्ष पदम पुनले जानकारी दिनुभयो ।
छाप, भुकभुके, सिम, मुसुङ र डोलेका कृषकहरुलाई प्रतिव्यक्ति ९ देखि १४५ वटा सम्म किबीका बिरुवा वितरण गरिएको छ । सरकारी नर्सरीबाट चार सय बिरुवा प्रतिगोटा ११० रुपैयाँ र निजी नर्सरीबाट प्रतिगोटा ३५० रुपैयाँका दरले ४१५ वटा बिरुवा खरिद गरिएको थियो ।
संघीय सरकारको एक व्यक्ति, एक बिरुवा कार्यक्रम अन्तरगत बेनी नगरपालिकाले भकिम्लीमा किबी खेती विस्तारका लागि तीन लाख रुपैयाँ बिनियोजन गरेको थियो । बिरुवा वितरण अघि किबी खेती गर्न लागेका कृषकहरुलाई कृषि ज्ञान केन्द्रका बागबानि विकास अधिकृत भोजबहादुर थापाले तालिम दिनुभएको थियो ।
लहरा प्रजातीको किवी समुद्रि सतहदेखि एक हजार २०० देखि दुई हजार ५०० मिटर उचाईको भुगोलमा खेती गर्न सकिन्छ । ब्यवसायीक महत्व बुझ्नुका साथै आम्दानीको सम्भावना भएकाले किवीको खेतीतर्फ म्याग्दीका कृषकको आकर्षण बढेको छ । बोटमा ५० देखि ७० किलोसम्म फल लाग्ने किवी प्रतिकिलो चार सय रुपैयाँका दरले बिक्री हुने गरेको छ । स्वादीलो, धेरै पौष्टिक तत्ब पाईने र स्वस्थ्यकर मानिने किवीको मुख्य उपभोक्ता पर्यटक, बिदेशमा रहेका र त्यहाँबाट फर्कीएका नेपालीहरु हुन् ।