आगोलागीबाट एक घर जलेर नष्ट

  • ११ माघ २०७५, शुक्रबार
  • 1868 पटक पढिएको

बेनी ११ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा शुक्रबार दिउँसो भएको आगोलागीबाट एक घर जलेर नष्ट भएको छ । घारको तोपेचौर स्थित भुपेन्द्रबहादुर खड्काको एक तले पाँच कोठे घरमा आगोलागी हुँदा जलेर पूर्णरुपमा क्षति भएको हो । अन्नपूर्ण चक्रीय पदमार्गको भुरुङ्ग तातोपानी–घोडेपानी खण्डमा पर्ने सो घरमा खड्काले एक्सीलेन्ट भ्यु लज एण्ड रेष्टुरेन्ट सञ्चालन गर्दै आउनुभएको थियो ।

 

सिलीण्डरबाट ग्याँस चुहावट भएर आगोलागी भएको अनुमान गरिएको घार प्रहरी चौकीले जनाएको छ । प्रहरी र स्थानीयबासीले आगोलागी नियन्त्रणमा लिने प्रयास गरेपनि सफल हुन सकेन् । आगो निभाउने र घरभित्रका सामग्री निकाल्न खोज्दा स्थानीय भक्तबहादुर खड्का सामान्य घाइते हुनुभएको घारबाट रेजिना कटुवालले जानकारी दिनुभयो । आगोलागीबाट बीस लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले बताउनुभयो ।

घरभित्र रहेका फर्निचर, लत्ताकपडा, अन्नपात लगायत सबै सामग्रीहरु जलेर नष्ट भएको वडा अध्यक्ष बरुवालले बताउनुभयो । पिडित खड्काको परिवारलाई आफन्तकोमा आश्रय लिएर बस्ने व्यवस्था मिलाइएको छ ।