अल्पत्र परेको जिसस सभाहल निर्माणलाई पूर्णता दिइने
- ५ माघ २०७५, शनिबार
- 1342 पटक पढिएको
बेनी, ५ माघ । म्याग्दी सदरमुकाम बेनीमा बजेट अभाबले अल्पत्र परेको निर्माणाधिन बहुउद्देश्यीय सभा हल निर्माण योजनालाई अघि बढाइने भएको छ । जिल्ला समन्वय समितिको कार्यालय परिसरमा दुई बर्ष अघि निर्माण सुरु गरिएको सभाहल बजेट अभाबले अल्पत्र परेको थियो । जिल्ला समन्वय समितिको पहलमा गण्डकी प्रदेश सरकार मार्फत बजेट विनियोजन गरि निर्माणधिन बहुउद्देश्यीय भवनलाई पूर्णता दिन लागिएको हो । यो बर्ष प्रदेश सरकार बाट रु १ करोड बजेट विनियोजन भएको र थप स्रोतको व्यवस्थापनको लागि समेत पहल गरिएको जिल्ला समन्व्य समितिका प्रमुख देवेन्द्र बहादुर केसीले जानकारी दिनुभयो ।
अहिले जिल्लामा ठुलो कार्यक्रम सञ्चालन गर्ने हल नहुँदा समस्या आईरहेको सन्दर्भमा बहुउद्देश्यीय हल निर्माणलाई पूर्णता दिन चौतर्फी रुपमा पहल गरिएको उहाँले बताउनुभयो । शान्तिका लागी पुनस्थापना कार्यक्रम अन्र्तगत बजेट विनियोजन भएर निर्माण कार्य सुरु गरिएपछि शान्ति मन्त्रालय खारेज भएपछि यो योजना अलपत्र परेको थियो । अहिलेसम्म रु १ करोड ४२ लाख खर्चेर दुई तले भवनको पिलर ठडाउने, दुई ढलान गर्ने काम भएपनि भवनमा पर्खाल लगाउने, प्लास्टर र रंगरोगन सहितको काम बाँकी रहेको छ ।
यो बर्ष विनियोजन भएको बजेटले निर्माण कार्यले पुर्णता नपाउने भएपछि योजनालाई बहुबर्षिय ठेक्का लगाउनका लागि सम्बन्धित मन्त्रालय र कार्यान्वयन गर्ने कार्यालयलाई ताकेता गरिएको प्रदेश सभा सदस्य विनोद केसीले जानकारी दिनभयो । सभाहल निर्माण सम्पन्न गर्न करिब ३ करोड लागन अनुमान गरिएको छ । हालै उक्त योजना कार्यान्वयनको अबस्थाबारे स्थलगत निरिक्षणमा आउनुभएका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिब इश्वरचन्द्र महराठाले शहरी विकास तथा भवन कार्यालय बागलुङ मार्फत योजना कार्यान्वनको लागि ठेक्का प्रकृया सुरु हुने जानकारी दिनुभयो ।