गुर्जामा हिमपात,चिसोले विद्यार्थी र बृद्धबृद्धालाई समस्या
- २३ पुष २०७५, सोमबार
- 3738 पटक पढिएको
बेनी २३ पुस । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा हिमपात भएको छ । अत्यधिक चिसो बढेसंगै गयरातीदेखि गुर्जामा हिमपात भैरहेको छ । अहिलेसम्म करिब १ फिट बढी हिउँ जमेकोे जनकल्याण मावि गुर्जाका शिक्षक रुपेश सुवेदीले जानकारी दिनुभयो ।
हिमपातको कारण विद्यालयमा पठनपाठन गराउन विद्यार्थी र शिक्षकलाई समस्या भएको छ भने गाउँका बृद्धबृद्धा नागरिकहरु समेत घरबाट बाहिर निस्कन मुस्कील परेको उहाँले बताउनुभयो । यो बर्षको पहिलो हिमपातले कृषकहरु भने उत्साहित बनेका छन् ।
हिमपात भएपछि जमेको हिँउ पग्लीएर खेतबारीमा हालेको मल भिज्ने र बोट बिरुवा फस्टाउने, उत्पादन बढ्ने भएपछि कृषकहरुको लागि हिमपात लाभदायी हुने गरेको गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।
गुर्जा संगै म्याग्दीको माथिल्लो भेगमा हिमपात भएको छ । अत्यधिक बढेको चिसोले पानी जमेपछि घोडेपानीका होटल व्यवसायिहरु समस्यामा परेका छन् । चिसोल मुहानको पानी नै जमेर बरफ बनेपछि पिउने र सरसफाईका लागि पानीको समस्इा भएको स्थानीय पर्यटन व्यवसायि विरेन पुनले बताउनुभयो ।