यातयातमा सहुलियत कार्यान्वयन गर्ने सहमती

  • २२ पुष २०७५, आईतवार
  • 1454 पटक पढिएको

बेनी २२ पुष । म्याग्दीमा सार्वजनिक यातायातमा छुटको सुबिधा कार्यान्वयन गर्ने सहमति भएको छ । प्रजिअ लीलाधर अधिकारीको अध्यक्षतामा आइतबार प्रशासन कार्यालयमा बसेको जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले यातायात व्यवसायीले सबै ठाउँमा सरकारले निर्धारण गरेको विद्यार्थी, जेष्ठ नागरिक र अपाङ्ग व्यक्तिलाई सहुलियत सुबिधा प्रदान गर्ने निर्णय भएको हो ।

यातायात व्यवसायी, सुरक्षा अधिकारी र विद्यार्थी संगठनका प्रतिनिधिहरुको उपस्थितीमा बसेको बैठकले व्यवसायीले तोकिएको सहुलियत दिने र नक्कली परिचयपत्र देखाएर सुबिधा लिएको पाइएमा कारबाहीको दायरामा ल्याउने निर्णय पनि भएको सहायक प्रजिअ लीलादेवी अर्यालले जानकारी दिनुभयो ।

सरकारले सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत र जेष्ठ नागरिक, अपाङ्गलाई पचास प्रतिशत छुटको सुबिधा दिएपनि म्याग्दीमा कार्यान्वयन हुन नसकेको लक्षित समुदायको गुनासो छ । बैठकमा सहभागि यातायात व्यवसायीहरुले निजी सवारी साधनले भाडामा यात्रु बोकेको र तोकिएको भन्दा बढी भाडा लिने गरेको बताएका थिए । निजी सवारी साधनले नियम विपरित गरेका गतिबिधि नियमनका लागि संयुक्त अनुगमन गर्ने निर्णय पनि भएको छ ।