अन्नपूर्ण गाउँपालिकामा वडामै योजना सम्झौता
- २२ पुष २०७५, आईतवार
- 1532 पटक पढिएको
बेनी २२ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले वडामै योजना सम्झौता गर्न सुरु गरेको छ । सेवाग्राहीहरुको सुबिधाका लागि गाउँपालिकाका कर्मचारीहरु वडा कार्यालयमै पुगेर बजेट बिनियोजन भएका योजना कार्यान्वयनका लागि उपभोक्ता समितिसँग सम्झौता सुरु गरेको हो । ४ नम्बर वडा नारच्याङमा शनिबार पहिलो पटक दश वटा उपभोक्ता समितिसँगै वडा स्तरमा योजना सम्झौता गरिएको गाउँपालिकाका नायव सुब्बा कुलप्रसाद आचार्यले जानकारी दिनुभयो ।
वडा अध्यक्ष चन्द्रप्रकाश फगामी, नायव सुब्बा आचार्य, वडा सचिव दिर्घप्रसाद गौतम र जनप्रतिनिधिहरुको टोलीले योजना सम्झौता गरेको हो । वडामै योजना सम्झौता गर्दा गाउँपालिका सम्म पुग्नुपर्ने उपभोक्तालाई झञ्जट नहुने, समय र खर्चको बचत हुनुका साथै कार्यान्वयन प्रक्रियाका बारेमा सहजिकरणको अवसर पाइने वडा अध्यक्ष फगामीले बताउनुभयो ।
वडामा योजना सम्झौतालाई थप प्रभावकारी बनाउन बैङ्का प्रतिनिधिहरुलाई पनि सँगै लैजान पहल गरिएको नायव सुब्बा आचार्यले बताउनुभयो । अन्य वडाहरुमा पनि यही तरिकाले योजना सम्झौता गर्ने अन्नपूर्ण गाउँपालिकाले जनाएको छ ।
योजना कार्यान्यवनलाई पारदर्शी, व्यवस्थित र दिगो बनाउन बडा स्तरमा गठन भएका उपभोक्ता समितिका पदाधीकारीहरुलाई अभिमुखीकरण समेत गरिएको छ ।