देविस्थानका २१६ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण
- १६ पुष २०७५, सोमबार
- 1454 पटक पढिएको
बेनी १६ पुष । म्याग्दीको मालिका गाउँपालिकाले सोमबार वडा न. ५ देविस्थानमा आयोजना गरेको घुम्ती शिविर मार्फत २१६ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरेको छ । जनप्रतिनिधि र सम्बन्धित शाखाका कर्मचारी सहितको टोलीले वडा कार्यालयमै शिविर सञ्चालन गरेर जेष्ठ नागरिकका साथै थप दुई जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिनुभयो ।
अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष बिटालु, प्रमुख प्रशासकीय अधिकृत वुद्धीराम शर्मा, वडा अध्यक्ष पिपला बुढाथोकी, कार्यपालिका सदस्य गौमती चपाई, स्वास्थ्य शाखाका प्रमुख राजेश थापा, दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर तिलक गौतम लगायतको टोलीले सेवा दिनुभएको थियो ।
परिचयपत्रको आधारमा ६० वर्ष भन्दा बढी उमेरका जेष्ठ नागरिकहरुले स्वास्थ्य उपचार, यातायात लगायत सेवामा छुट सुबिधा पाउने व्यवस्था छ । टोलीले २०० जनालाई स्वास्थ्य परिक्षण, परामर्श तथा औषधी वितरण सेवा दिएको जनाएको छ ।
अपाङ्गता तथा जेष्ठ नागरिक परिचयपत्र कार्यबिधी बनाएर उपाध्यक्ष बिटालुको संयोजकत्वमा अपाङ्गता समन्वय समिति गठन गरिसकेको मालिकाले यसअघि वडा न. १ निस्कोट, २. वडा रुम, ३ न. वडा डाडागाउँ र ४ न. वडा ओखरबोटमा परिचयपत्र वितरण गरिसकेको छ ।
७ वटै वडामा सञ्चालन गरिने शिविर मार्फत परिचयपत्र वितरणसँगै स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधी वितरण सेवा उपलब्ध गराउने मालिका गाउँपालिकाले जनाएको छ ।