साना किसानको बिना धितो चार करोड लगानी

  • १ पुष २०७५, आईतवार
  • 1930 पटक पढिएको

मल्लाज १ पुस । जलजला गाउँपालिका ३ मल्लाजमा रहेको साना किसान कृषि सहकारी संस्थाले बिना धितो चार करोड रुपैयाँ भन्दा बढी लगानी गरेको छ । संस्थाको शनिबार मल्लाजमा भएको चौथो वार्षिक साधारणसभामा कोषाध्यक्ष इन्द्र अधिकारीले गत आर्थिक वर्ष २०७४/७५ मा सामुहिक जमानीका आधारमा सहुलियत ब्याजदरमा चार करोड २७ लाख रुपैयाँ लगानी भएको जानकारी दिनुभयो ।

८४१ जना सदस्यको ५२ लाख ६३ हजार ९०० रुपैयाँ सेयर पुँजी रहेको सहकारीले गत आर्थिक वर्षमा ८३ लाख २६ हजार ३५७ रुपैयाँ आम्दानी, ६१ लाख २१ हजार ४४५ रुपैयाँ खर्च र २२ लाख चार हजार ८११ रुपैयाँ खुद मुनाफा भएको जनाएको छ । गत वर्ष एक करोड ९२ लाख रुपैयाँ निक्षेप संकलन गरिएको कोषाध्यक्ष अधिकारीले जानकारी दिनुभयो । साना किसान विकास लघुवित्त वित्तिय संस्थाबाट १२ प्रतिशत ब्याजदरमा ऋण लिएर माझफाँट, लेकफाँट र बाँसखर्कमा बिना धितो १५ देखि १६ प्रतिशत ब्याजदरमा लगानी गरिएको प्रबन्धक सनिता कार्कीले बताउनुभयो ।

पाँच जना सम्मको १०४ वटा समूह बनाएर सामुहिक जमानिको आधारमा बिना धितो एक जनालाई एक पटकमा एक लाख रुपैयाँ सम्म ऋण लगानी गरिने कार्कीले बताउनुभयो । प्रबन्धक कार्कीका अनुसार सरकारबाट थप अनुदान लिएर बाख्रा, कुखुरा, गाइभैसी पालन, तरकारी र फलफुल खेतीमा लगानी बढाउने योजना रहेको छ ।

साधारणसभामा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले सहकारी मार्फत तरकारी, फलफुल खेती र पशुपालनको क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो । उहाँले कृषक, महिलाहरुको आयआर्जन वृद्धीका लागि गाउँपालिकाले सहकारी संस्थासँग सहकार्य गर्ने निती लिएको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत मुना अधिकारीले सहकारी संस्थालाई बचत र ऋणमा मात्र सिमित नराखी आयआर्जन, सामाजिक रुपान्तरणको गतिबिधिमा पनि सक्रिय बनाउन सुझाव दिनुभयो । वडा अध्यक्षहरु भिष्म मल्ल, हरिविकास जिसी र गोविन्द खत्रीले पनि उत्पादनमुलक र रोजगारी सिर्जना हुने क्षेत्रमा सहकारीको लगानी केन्द्रित हुनुपर्ने बताउनुभयो ।

सदस्यहरुले सहकारीको पहलमा बालि र पशु बिमा कार्यक्रम सञ्चालन गर्न माग गरेका थिए । साधारणसभामा मल्लाज बहुउद्देश्यीय सहकारीका हिराबहादुर जिसी, मल्लाज बगरफाँट सहकारीका अध्यक्ष नविन जिसी, माझफाँट महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष शान्ता लामीछानेले पनि शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

संस्थाकी अध्यक्ष हेमकुमारी अधिकारीको अध्यक्षता, उपाध्यक्ष बिन्दु पौडेलको स्वागत र सचिव डम्मरबहादुर जिसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहकारीका संस्थापकहरु, उत्कृष्ट अंक हासिल गरेर दश जोड दुई तह उतिर्ण हुने सेयर सदस्यका छोराछोरीहरुलाई सम्मान गरिएको थियो ।