एनआरएनए र मोनाद्धारा दन्तशिविर आयोजना हुने

  • १ पुष २०७५, आईतवार
  • 1847 पटक पढिएको

बेनी १ पुस । गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजील्याड र म्याग्दी प्रवासी नेपाली संघ (मोना)को आयोजनामा म्याग्दीको ग्रामिण क्षेत्रमा निशूल्क दन्त शिविर सञ्चालन हुने भएको छ ।  भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका सर्वसाधारणहरुलाई गाउँमै सहज र सर्वसुलभ रुपमा दन्त उपचार सम्बन्धि सेवा प्रवाह र दाँत सम्बन्धि स्वास्थ्य समस्याबाट बच्ने उपायको बारेमा सन्देश प्रवाह गराउने उद्देश्यले शिविरको आयोजना गरिएको हो ।

यही पुष २४ र २५ गते धवलागिरी गाउँपालिका ६ मराङको बेशी, तथा २६ र २७ गते अन्नपूर्ण गाउँपालिकामा दन्त विशेषज्ञहरुको उपस्थितमा शिविर सञ्चालन गरिने मोनाका अध्यक्ष चक्र थापाले जानकारी दिनुभयो । स्थानीय तह र जिल्लाका सरोकारवाला निकायहरुसँ समन्वय गरेर शिविर सञ्चालन गरिने थापाले बताउनुभयो । मराङको बेशीमा सञ्चालन हुने शिविरबाट मल्कवाङ, रघुगंगाको कुइनेखानी र मालिकाको बिम, दिच्यामका बासिन्दाले पनि सेवा लिन सक्ने जनाइएको छ ।

अन्नपूर्णमा गाउँपालिकाको सिफारिसमा शिविर सञ्चालन हुने स्थान तय गरिने भएको छ । टिचिङ हस्पिटलका दन्तरोग विशेषज्ञ डाक्टर दिपकराज जोशी र एनआरएनए न्युजिल्याडका स्वास्थ्य शिविर संयोजक डाक्टर निर्मल रिमाल लगायतको टोलीले दन्त परिक्षण, परामर्श र निशूल्क औषधी वितरणको सेवा दिने भएको छ ।

शिविरमा पहिचान भएका र त्यहाँ उपचार सम्भव नभएको सेवा अस्पतालबाट उपलब्ध गराउने व्यवस्था मिलाउने एनआरएनए न्युजील्याडका अध्यक्ष कमल वाइवाले बताउनुभयो । दुर्गम र ग्रामिण क्षेत्रमा सहज र सर्वसुलभ रुपमा दन्त स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निशूल्क शिविर आयोजना गरिएको वाइवाले बताउनुभयो ।