प्रवासी म्याग्देलीहरुको अगुवाईमा निर्माण हुने दरबाङ म्याग्दीखोला जलविद्युतको शिलान्यास ( फोटो फिचर)
- २८ मंसिर २०७५, शुक्रबार
- कमल खत्री
- 3311 पटक पढिएको
म्याग्दी, २८ मंसीर । म्याग्दीको पश्चिम हुँदै बग्ने म्याग्दीखोलाबाट २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत आयोजना निर्माण सुरु भएको छ । धौलागिरि कालिका हाईड्रो लिमिटेड कम्पनीले निर्माण गर्न लागेको सो आयोजनामा प्रवासमा रहेका म्याग्देली र गैर आवासीय नेपालीहरु सहित स्थानीयबासीहरुको समेत लगानी हुनेछ ।
शुक्रवार मालिका गाउँपालिका–६ दुखुबेशी (बलौटे) मा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममायाँ थापाले आयोजनाको विद्युतगृहको शिलान्यास गर्नुभयो । मालिका गाउँपालिका–७ बिम , वडा नम्बर ५ देविस्थान र धौलागिरि गाउँपालिका–७ को धारापानीको सिमा क्षेत्रमा रहेको फेदीमा बाँध रहने सो आयोजनाको साढे ५ किलोमिटर सुरुङ मार्ग रहनेछ । सुरुङमार्ग हुँदै ल्याईने पानीलाई १ सय मिटर हेडबाट दुखुबेशी (बलौटे)मा निर्माण हुने विद्युतगृहमा खसालेर विद्युत उत्पादन गरिनेछ ।
आगामी ३ बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य सहित निर्माण सुरु भएको यस आयोजना निर्माणमा ५ अर्ब १५ करोड लागत अनुमान गरिएको आयोजनाका प्रवन्ध निर्देशक ईन्जीनियर हर्कमान घर्ति मगरले जानकारी दिनुभयो । ३० प्रतिशत संस्थापक र साधारण सेयर तथा ७० प्रतिशत विक्तिय संस्थाको लगानीमा आयोजना निर्माण गरिने तयारी भएको छ । आयोजनामा सानिमा बैँकको अगुवाईमा प्रभु ,कुमारी , सेञ्चुरी, महालक्ष्मी, मुक्तिनाथ र ओम डेभलपमेण्ट बैँकसंग वित्तिय व्यवस्थापनको लागि सम्झौता भैसकेको दरबाङ कालिका हाइड्रोका अध्यक्ष विनोद कुँवरले जानकारी दिनभयो ।
‘‘यो आयोजनामा सबै म्याग्दीबासीको लगानी रहोस भन्ने उदेश्यले लगानीको दायरालाई फराकिलो बनाएका छौँ, स्वदेश देखि प्रवाससम्म भएका सबै म्याग्देलीलाई लगानीको लागि आह्वान गरेका छौँ, सबै म्याग्दीबासीको लगानीमा समयमै निर्माण कार्य सम्पन्न गर्ने हाम्रो उदेश्य छ’’–अध्यक्ष कुुँवरले भन्नुभयो । गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाका पूर्व अध्यक्ष एवम म्याग्दी प्रवासी नेपाली संघका पूर्व बरिष्ठ उपाध्यक्ष कुँभरको नेतृत्वमा निर्माण गर्न लागिएको आयोजनामा स्थानीयबासीसंगै प्रवासीहरुलाई समेत लगानीको लागि आह्वान गरिएको छ ।
आयोजनालाई समयमै सम्पन्न गर्नको लािग कम्पनीका अध्यक्ष कुँवर सहित ज्ञानेन्द्र थापा, अमृत गौचन, चित्रबहादुर पुन, दलबहादुर भट्टचन, पूर्ण बहादुर कुँवर, हर्कमान घर्ति मगर सम्मीलीत सञ्चालक समिति वित्तिय व्यवस्थापन सहितको तयारीमा जुटेका छन् ।
यस आयोजनाबाट उत्पादन हुने विद्युतलाई २९ किलोमिटर लामो दाना सबस्टेशन मार्फत केन्द्रिय प्रशारणमा जोडीनेछ । नेपाल विद्यूत प्राधिकरणसंग विद्युत खरिद विक्रि सम्झौता भैसकेको यस आयोजनाबाट बार्षिक १५० गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ । हिउँदको चार महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र बर्षायामको ८ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा विद्युत खरिदविक्रि हुने सम्झौता भएको छ ।
आयोजनाका काम यसरी अगाडी बढ्दै छ
आयोजनाले दरबाङको छेरछेरमा साईट कार्यालय निर्माण गरिसकेको छ । आयोजनाको सुरुङमार्ग जाने तोलाबाङदेखि दुखुबेसी जाने सडक फराकिलो बनाउने काम सुरु भएको छ । छेरछेरैमै कर्मचारी आवास भवनगृह समेत निर्माण गर्ने तयारी गरिएको छ । सडकको ट्याक निर्माणलाई पुर्णता दिएर छिट्टै सुरुङमार्ग सुरु हुने अध्यक्ष कुँभरले जानकारी दिनुभयो । आयोजनाको काम गति दिन सुरुङ मार्ग निर्माणको लागि डेन्टरको प्रकृयामा रहेको छ ।
आयोजना निर्माणको लागि विहितगृह रहने रातोढुंगामा १६ रोपनी जग्गा अधिकरण गरिसकिएको छ भने सुरुङ क्षेत्रमा पर्ने दुखुबेसी लगायतको ठाउँमा आबश्यक जग्गा अधिकरणको काम भैरहेको छ ।
आयोजना पश्चिम म्याग्दीको विकासको आधार ः सरोकारवाला
आयोजनाको शिलान्यास गर्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममायाँ थापाले जलविद्यूतको क्षेत्रको विकासले मुलुकको आर्थिक विकासर समृद्धिमा टुवा पुग्ने बताउनभयो । प्रवासमा रहेका म्याग्देलीहरुको अगुवाईमा निर्माण हुन लागेको यस आयोजनाले विदेशमा आर्जन गरेको स्रोत, साधन र शिपलाई स्वदेशमै उपयोग गर्नुपर्ने सन्देश दिएको मन्त्री थापाले बताउनुभयो । नेपाल जलविद्युतमा प्रशस्त सम्भावनायुक्त रहेपनि अहिलेसम्म न्युन मात्रामा विद्युत उत्पादन भएको बताउँदै उहाँले आगामी १० बर्षभित्र १५ हजार मेगावाट विद्यूत उत्पादन गर्ने लक्ष्य सहित सरकारले जलविद्युत क्षेत्रको विकासमा लागिपरेको बताउनुभयो ।
मन्त्री थापाले म्याग्दी जलविद्युत, पर्यटन, जडिबुटी, कृषि लगायतको क्षेत्रमा प्रशस्त सम्भावनायुक्त रहेकाले यसतर्फ लगानी बढाउन आबश्यक रहेकोमा जोड दिनुभयो । कार्यक्रममा म्याग्दीका प्रतिनिधि सभा सदस्य भुपेन्द्र बहादुर थापाले यस आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्नको लागि आईपरेका समस्याहरुलाई हल गर्ने कार्यमा सबै सरोकारवालाबाट सहयोग हुने बताउनुभयो । उहाँले स्थानीयबासीलाई समेत जलविद्युत आयोजनामा लगानी र आफ्नो शिप अनुसार श्रम गरेर लाभ लिन आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, पूर्व सभासद नवराज शर्मा, सहायक प्रमुख जिल्ला अधिकारी लिलादेवी अर्याल, मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका, र नेपाली काँग्रेसका उपसभापती माधव प्रसाद रेग्मीले जलविद्यूत आयोजना निर्माणमा आईपरेका समस्या हल गर्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाउँदै स्थानीयका उचित मागहरुलाई सम्बोधन गर्दै निर्धारित समयमै आयोजनाको निर्माण कार्यलाई पूर्णता दिने गरि काम गर्न कम्पनीका संस्थापकहरुलाई आग्रह गर्नुभयो ।
प्रा.लिका अध्यक्ष कुँवरको अध्यक्षता, सञ्चालक चित्र बहादुर पुनको स्वागत र स्थानीय बिमल शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा आयोजनाका प्रवन्ध निर्देशक हर्कमान घर्तिले आयोजनाको पूर्वाधार निर्माणको बारेमा जानकारी गराउनुभएको थियो ।
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l