आदीवासीहरुको चाडपर्वमा बिदा कटौती नगर्न माग
- २५ मंसिर २०७५, मंगलवार
- 1693 पटक पढिएको
बेनी २५ मङसिर । तमू ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्यसमिति म्याग्दीले आदीवासी जनजातीहरुले मनाउन मौलीक चाडपर्वमा दिइदै आएको सार्वजनिक बिदा कटौती गर्ने निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ ।
समितिले मंगलबार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाउदै गुरुङ समुदायले मनाउने तमू ल्होसार (पौष १५) लगायत अन्य आदिवासी जनजाती समुदायका मूख्य चाडपर्वको सार्वजनिक बिदा कटौती गर्ने निर्णय फिर्ता लिन माग गरेको हो ।
समितिका जिल्ला अध्यक्ष चक्रबहादुर गुरुङ उपाध्यक्ष तथा प्रदेश सदस्य बिष्णु गुरुङ, जिल्ला सदस्य सिता गुरुङ, तमु विद्यार्थी परिषद्का प्रदेश सचिव नेत्र गुरुङको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी लीलादेवी अर्याललाई ज्ञापनपत्र बुझाएको हो ।
आदिवासी जनजाती समुदायको चाडपर्वको समयमा दिइदै आएको सार्वजनिक बिदालाई निरन्तरता दिई सबै जाती, भाषा, संस्कार, संस्कृति र धर्मवालम्बीहरुले राज्यप्रति अपनत्वको भावना विकास गर्ने वातावरण बनाउन ज्ञापनपत्र मार्फत माग गरिएको छ ।