वडा अध्यक्ष फगामीद्धारा पारिश्रमिकबाट अक्षयकोष स्थापना

  • २४ मंसिर २०७५, सोमबार
  • सन्तोष गौतम
  • 1897 पटक पढिएको

बेनी २४ मङसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरुङ–तातोपानीका वडा अध्यक्ष ओमप्रकाश फगामीले जनप्रतिनिधिको हैसियतमा प्राप्त गरेको पारिश्रमिकबाट सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । मान्द्रढुङ्गामा रहेको हिमालय आधारभुत विद्यालयको सोमबार आयोजित ५४ औ वार्षिक उत्सव समारोहमा वडा अध्यक्ष फगामीले बुवा रनबहादुरको नाममा २५ हजार रुपैयाँको अक्षयकोष स्थापनाको घोषणा गरेका हुन् ।

विद्यालयका गरिब जेहेन्दार विद्यार्थीलाई कोषबाट छात्रवृती उपलब्ध गराउने विद्यालय व्यवस्थापन समितिको समेत अध्यक्ष रहनुभएका फगामीले बताए । वार्षिक उत्सवको अवसरमा यसअघि आमा गम्भिराको नाममा २५ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका स्थानीय सोमबहादुर सुनारले थप ६० हजार रुपैयाँ सहयोग गरेका थिए ।

कार्यपालिका सदस्य बिष्णु दमैले आफ्नो पारिश्रमिकबाट विद्यालयलाई दश हजार पाँच रुपैयाँ सहयोग गरेकी छन् । उनले तीन जना विद्यार्थीलाई पोशाक पनि उपलब्ध गराएकी थिईन । हाल हङकङमा रहेका धनबहादुर गर्बुजा र भुरुङ तातोपानी मिट सप्लायर्सले विद्यार्थीहरुलाई स्टेशनरी सामग्री सहयोग गरेका थिए । हेमन्त फगामीले पाँच हजार रुपैयाँ सहयोग गरेका छन् ।

वडा सदस्य टेकमाया तिलीजाले वार्षिक उत्सवको अवसरमा आयोजित टोल स्तरीय हाँजिरीजवाफ प्रतियोगिताको पुरस्कार उपलब्ध गराएकी थिईन । अर्का वडा सदस्य बिरबहादुर पौडेलले विद्यालयलाई हिटरका साथै नियमित उपस्थित हुने शिक्षकहरु मिना बिक र बिष्णु गर्बुजालाई पुरस्कारको व्यवस्था गरेकी छन् ।

चार जना उत्कृष्ट अभिभावकहरुका लागि पनि वडा सदस्य पौडेलले पुरस्कार उपलब्ध गराईन । वार्षिक उत्सवको अवसरमा त्रिदिवसीय विभिन्न प्रतियोगिता गरिएको थियो । कक्षा ५ सम्म पठनपाठन हुने आवासीय रुपमा सञ्चालित यस विद्यालयमा ३० जना विद्यार्थी रहेका प्रअ रामचन्द्र तिवारीले बताए ।

सन्तोष गौतम