गण्डकी प्रदेशको समृद्धिमा पर्यटन र उर्जा प्रमुख आधार : मुख्यमन्त्री गुरुङ (भिडियो सहित)

  • १५ मंसिर २०७५, शनिबार
  • कमल खत्री
  • 2803 पटक पढिएको

बेनी, १५ मङ्सिर । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङले प्रदेशको विकास र समृद्धिमा पर्यटन र उर्जा क्षेत्र प्रमुख आधार भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) को अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई शनिवार म्याग्दी सदरमुकाम बेनीमा सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । नेकपाका प्रदेश ईन्चार्ज समेत रहनुभएका मुख्यमन्त्री गुरुङले गरिबी निवारण, रोजगारिको सम्भावना सिजर्ना गर्दै आर्थिक समृद्धि हाँसिल गर्न पर्यटन क्षेत्र महत्वपूर्ण आधार भएको बताउनुभयो । ‘‘ मुलुकमै पर्यटनको राजधानी पोखरा हो, गण्डकी प्रदेशका हरेक जिल्लामा रहेको पर्यटन विकासको अथाह सम्भावना उजागर गर्न सरकार लागिपरेको छ’’–गुरुङले भन्नुभयो ।

गण्डकी प्रदेशभित्र यो बर्ष ३०० पर्यटकीय गाउँमा होमस्टे सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनुभयो । यहाँका प्राकृतिक, धार्मिक र ऐतिहाँसिक महत्वको पर्यटन विकास संगै खेलकुद पर्यटनको विकासको लागि समेत प्रदेश सरकारले गृहकार्य गरिरहेको उहाँको भनाई थियो । पोखरामा अन्र्तराष्ट्रिय मापदण्डको रंगशाला निर्माण, अन्र्तराष्ट्रिय विमान स्थल, पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गलाई व्यवस्थित बनाउँदै मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोरको कामलाई पूर्णता दिन सके यस क्षेत्रमा आर्थिक कारोबार ह्वात्तै बढ्ने उहाँले बताउनुभयो ।

गण्डकी प्रदेशको विकास र समृद्धिको यात्रामा जलविद्यूत, खानी, कृषि, लगायतको क्षेत्रको सम्भावनालाई समेत उचित उपयोग गरिने बताउनुभयो । ‘‘वेरोजगार हटाउन कृषिमा आधुनिकीकरण र युवाहरुलाई स्वरोजगारमुलक तालिममा जोड दिएका छौँ, युवाशक्तिलाई निःशुल्क तालिम मार्फत शिप र दक्ष बनाउन सक्छौँ, स्थानीय तह स्तरमा ग्राम उद्योग स्थापनाको प्रकृया अघि बढेको छ’’–मुख्यन्त्री गुरुङले भन्नुयभो  उहाँले गण्डकी प्रदेशमा १४ प्रतिशत नागरिक विद्युत र ९ प्रतिशत नागरिक शुद्ध खानेपानी उपभोगबाट बञ्चित हुनुपरेको बताउँदै त्यसतर्फ प्रदेश सरकारले आबश्यक काम अघि बढाएको जानकारी दिनुभयो ।

जलस्रोत मार्फत १० हजार मेगावाट बढी र बायु र सौर्य उर्जाबाट मुस्ताङमा ५ हजार मेगावाट बढी विद्युत उत्पादनको सम्भावना रहेको भन्दै मुख्यमन्त्री गुरुङले हिमाल पहाड र तराई क्षेत्र समेटिएको गण्डकी प्रदेशलाई विकास र समृद्धीको यात्राबाट रोकिने कुनै कारण नभएको उल्लेख गर्नुभयो । अहिले विकास र समृद्धिलाई गति दिन सरकार आफ्नो तर्फबाट निरन्तर लागीरहेपनी कर्मचारीतन्त्रबाट सकरात्मक सहयोग हुन नसक्दा यथोचित उपलब्धी हाँसिल हुन नसकेको उहाँको भनाई छ । ‘‘मुलुकमा सिंगो व्यवस्था परिवर्तन भयो, तर कर्मचारी र सुरक्षा अंगहरु अहिलेपनि हिजोकै अवस्थामा छन्, कर्मचारीतन्त्रमा हिजो जुन सोचाई र कार्यशैलि थियो, अहिले पनि त्यही छ, अब यसतर्फ संघिय सरकारको गम्भिर ध्यानकर्षण हुन जरुरी छ’’–गुरुङले भन्नुभयो।

उहाँले नेकपाको पार्टी एकताको काम भैरहेको बताउँदै जिल्ला संयन्त्रलाई स्थानीय तह र वडा स्तरमा पार्टीका कमीटी निर्माण, प्रशिक्षण र आबश्यक कार्यक्रम लिएर खट्न निर्देशन समेत दिनुभयो । सो कार्यक्रममा बोल्दै नेकपाका गण्डकी प्रदेश सचिब गोविन्द नेपालीले नेपाली जनताको सपना पुरा गर्न नेपालमा ठुला कम्युनिष्ट पार्टीबिच एकता भएको बताउँदै तल्लो कमिटीसम्म एकतलाई बलियो बनाउनतर्फ लाग्न जिल्ला स्थित नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।
त्यस्तै गण्डकी प्रदेश सरकारका सामाजिक विकास मन्त्री नरदेवी पुनले समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक बनाउने गरि सरकारले आफ्नो काम केन्द्रित गरेको बताउँदै हरेक क्षेत्रबाट सरकारका कामलाई रचनात्मक सहयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपाका गण्डकी प्रदेश सभा सदस्य विनोद केसी, पूर्व सभासदद्धय गोविन्द पौडेल, नवराज शर्मा,नेकपाका केन्द्रिय सदस्य गुप्त बहादुर हमाल ठकुरी लगायतले मन्तव्य राख्नुभएको थियो । नेकपाका केन्द्रिय सदस्य एवम प्रतिनिधि सभाका साँसद भुपेन्द्रबहादुर थापाको अध्यक्षता, नेकपा म्याग्दीका जिल्ला संयन्त्र सदस्य टेकबहादुर विश्वकर्माको स्वागत र हरिकृष्ण श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l