मिर्गौलापिडित सुरेशको उपचारमा दक्षिण कोरियाबाट सहयोग

  • १२ मंसिर २०७५, बुधबार
  • 2127 पटक पढिएको

बेनी १२ मंसिर । दुवै मृगौलाले काम गर्न छाडेपछि थलिएका म्याग्दीको मंगला गाउँपालिका ५ नेटाका सुरेश छन्त्यालको उपचारका लागि दक्षिण कोरीयाबाट आर्थिक सहयोग प्राप्त भएको छ । १९ वर्षिय छन्त्यालको परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सञ्चालन गरेको अभियानमा कोरियामा रहनुभएका मंगला गाउँपालिका–४ सोलधाराका लालप्रसाद रोकाको पहलमा रु ३७ हजार १८० रुपैयाँ सहयोग प्राप्त भएको हो ।

सो सहयोग रकम संकलनकर्ता रोकाका आफन्त जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरिक्षक मिन बहादुर थापा मार्फत सुरेशकी आमा सिता र अभियानका सदस्य लाल कुमार रोकालाई हस्तान्तरण गरिएको छ । अलका अस्पताल काठमाडौमा डायलाइसीस गराइरहेका सुरेशको मृगौला प्रत्यारोपणको तयारी भएको छ । उहाँको उपचारका लागि स्वदेश तथा विदेशमा रहेका म्याग्देलीहरुबाट करिब २८ लाख रुपैया आर्थिक सहयोग संकलन भएको कोषका अध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो ।

विगत ५ महिनादेखि अस्पतालमा भर्ना भएर उपचाररत छन्त्यालको उपचारमा आर्थिक अभाब भएपछि गत भदौ ५ गतेदेखि सुरु भएको सुरेश बचाउ अभियानमा प्रवासमा रहेका म्याग्देलीहरुको पहल एवम जिल्लाका विभिन्न संघ संस्था र समुह मार्फत सो सहयोग जुटेको हो । छन्त्यालको सहयोगको लागि जापान, अमेरिका, दक्षिण कोरिया, मलेसिया, दुवै, स्पेन, बहराईन, कतार, कुवेत, पोर्तुगल, अष्ट्रेलिया, इजरायल, साइप्रस, इराक लागतयका मुलुकमा रहेका म्याग्देलीहरुको पहलमा आर्थिक संकलन गरिएको छ भने अन्य मुलुकमा रहेका म्याग्देलीहरुले समेत अभियानमा सहयोग जुटाएर पठाउने क्रम जारी रहेको कोषका सचिब लोकेश पुन मगरले जानकारी दिनुभयो ।

छन्त्याल बेनी स्थित माउण्ट एभरेष्टमा कक्षा १२ मा अध्ययन गर्दै आएका थिए । उनको उपचारमा अझै करिब ६ महिना लाग्ने अस्पतालले जनाएको पारिवारीक स्रोतले जनाएको छ ।