बेनीमा गरिमाको रक्तदान

  • ७ मंसिर २०७५, शुक्रबार
  • सन्तोष गौतम
  • 1616 पटक पढिएको

बेनी ७ मङसिर । गरिमा विकास बैंकको १२ औ वार्षिक उत्सवको अवसरमा शुक्रबार बेनीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।बैंकको बेनीको न्युरोड स्थित शाखा कार्यालय परिसरमा आयोजना गरिएको कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाद्धारा सञ्चालित रक्तसञ्चार केन्द्रको प्राबिधिक सहयोगमा सञ्चालित कार्यक्रममा बैंकका सञ्चालक, संस्थापक, कर्मचारी, अन्य बैंक तथा वित्तिय र सहकारी संस्थाका कर्मचारीहरुले पनि रक्तदान गरेका थिए ।


बैंकको सञ्चालक समितिका सदस्य डाक्टर भुपेन्द्रबहादुर खड्काले उद्घाटन गरेको कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ लगायत बैंकका संस्थापक तथा बजारका अगुवाहरुको उपस्थिती रहेको थियो ।बेनी शाखाका प्रबन्धक कमलप्रसाद ढुङ्गानाले कार्यक्रमको संचालन गरेका थिए । कार्यक्रममा सामाजिक कार्य अन्तरगत वार्षिक उत्सवको अवसर पारेर बेनी लगायत देशका विभिन्न आठ स्थानमा रक्तदान गरिएको प्रबन्धक ढुङगानाले बताए ।

काठमाडौको लाजिम्पाटमा मुख्य कार्यालय रहेको गरिमा म्याग्दीको निलगिरि र शुभेक्षा विकास बैंकसँग एकिकरण भएको थियो । ६७ वटा शाखा र दुई अरब ७८ करोड रुपैयाँ सेयर पुँजी रहेको गरिमाले चालु आर्थिक वर्षको असोज मसान्तसम्म २३ अर्ब रुपैयाँ निक्षेप संकलन र २१ अर्ब रुपैया कर्जा लगानी गरेको छ ।म्याग्दीको बेनी, पोखरेबगर, बाबियाचौर र दरवाङमा शाखा रहेको गरिमाले कर्जा, निक्षेप, रेमिटेन्स लगायत वित्तिय सेवा प्रवाह गर्दै आएको छ ।

सन्तोष गौतम