रघुगंगाको दुर्गम बस्तीमा स्वास्थ्य सेवा लिन सकसः ‘स्टेचर छैन, डोकोको भर’

  • ७ मंसिर २०७५, शुक्रबार
  • कमल खत्री
  • 2936 पटक पढिएको

म्याग्दी, ७ मंसिर । रघुगंगा गाउँपालिका–८ कुईनेखानीका स्थानीयबासीलाई प्राथमिक स्वास्थ्य सेवा लिनको लागि पनी ४ घण्टा बढीको पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । भौगोलिक रुपमा बिकटता रहेको कुईनेदेखि वडाकै एकमात्रै स्वास्थ्य संस्था घ्याँसीखर्कमा रहेको स्वास्थ्य चौकीमा सेवा लिन जान घण्टौँ हिँड्नुपर्ने बाध्यता रहेको हो । छरिएर बस्तीहरु रहेको यस वडामा स्वास्थ्य चौकीसम्म पुग्न पात्लेखर्क, छरी र मंगलेका स्थानीयले साढे १ घण्टा बढी पैदल हिँडनुपर्ने बाध्यता छ । यातयातको सहज पहुँच नपुगेको कारण पनि यस वडाका नागरिकहरुमा स्वास्थ्य सेवाको सहज पहूँच पुग्न नसकेको पात्लेखर्कका युवा अंकित पुन बताउँछन् ।

‘‘ दुर्गम क्षेत्र भएकाले यहाँ स्वास्थ्य सेवा लिन निकै पेचिलो छ, कोही विरामी भयो भने सजिलै स्वास्थ्य चौकीमा पुग्न सक्ने अबस्था छैन, घण्टौ लाग्ने ठाउँबाट पिठ्युमा बोकेर विरामीलाई उपचार गराउनुपर्ने बाध्यता छ’’–पुनले भने । यातयातको पहुँच छैन । बाटोघाटो व्यवस्थित छैनन् । विरामी बोक्न एम्बुलेन्स होईन स्ट्रेचरको समेत अभाब छ । कोही विरामी भएमा ‘डोको’मा बोकेर उपचारको लागी लैजानुपर्ने यहाँको बाध्यता हो ।

चिमखोलातर्फबाट डोकोमा बोकेर विरामीलाई उपचारको लागी बेनी तर्फ ल्याईदै गरेकाे गत भदाैमा लिइएकाे तस्बीर । तस्बिर ः समृद्ध

साँघुरो भवनबाट सेवा दिनुपर्ने बाध्यता छ । निर्माणधिन भवन नदी कटानले क्षती पु¥याएपछि अन्यौल बनेको छ । औषधी भण्डारण गर्ने ठाउँ छैन् । तोकिएका दरबन्दि अनुसारका स्वास्थ्यकर्मी नहुँदा सास्ती खेप्नुपरेको सेवाग्राहीको गुनासा छन् । हेल्थ असिस्टेन्टको दरबन्दि रहेपनि अहिलेसम्म कर्मचारी आएका छैनन् । अहेबको भरमा स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको स्वास्थ्य चौकीमा कार्यरत अहेब देविन्द्र बुढा बताउँछन् ।

‘‘ बिकटता छ, एक बस्तीबाट अर्को बस्तीमा जान घण्टौँ लाग्छ, कुईनेखानीमा महिनाको एक पटक खोपकेन्द्र र गाउँघर क्लिनिक चलाउँछौँ, तर प्रयाप्त जनशक्ति , स्रोत र साधनको अभाब हुँदा सेवा प्रवाह प्रभाबकारी बनाउन समस्या छ,’’–उनले भने । रघुगंगा गाउँपालिकाको कुईनेमंगले संगै चिमखोलाको पात्लेखेत, पाखापानीको ठाडखानी, दग्नामको दरमिजा, गाउँपालिकाकै केन्द्र मौवाफाँट, कलेजाबाङ लगायतका ठाउँमा स्वास्थ्य सेवाको सहज पहूँच पुग्न सकेको छैन् ।

बर्थिङ सेन्टर नहुँदा गर्भवती महिलाई सास्ती
बर्थीङ सेन्टरको सुबिधा नहुँदा दुर्गम क्षेत्रका गर्भवती महिलाहरुलाई सास्ती भएको छ । भौगोलिक रुपमा बिकट बस्तीका स्वास्थ्य संस्थामा प्रसुती केन्द्रको सुबिधा नहुँदा सुत्केरी हुनका लागि हजारौ खर्च गरेर सहरी क्षेत्रमा पुग्न बाध्य भएका हुन् । गरिब, विपन्न र आर्थिक रुपमा कमजोर समुदायका महिला घरमै असुरक्षित रुपमा सुत्केरी हुनुपर्ने बाध्यता रहेको रघुगंगा गाउँपालिका–८ की महिला स्वास्थ्य स्वयम सेवीका कदेवी छन्त्यालले बताईन् । ‘‘ यो क्षेत्रमै बर्थिङ सेन्टर छैन, बर्थिङ सेन्टर रहेको पाखापानी जान अपायक पर्छ, त्यसले बच्च जन्माउनको लागि कोही सदरमुकाम बेनी जाने गर्छन, कोही घरमै असुरक्षित तवरले सुत्केरी हुनुपर्ने बाध्यता छ’’–उनले भनीन् ।

यातयातको पहुँच नपुगेको रघुगंगा गाउँपालिका–८ कुईनेमंगले र वडा नम्बर ७ चिमखोलाका महिलाहरुले यस क्षेत्रमा कम्तीमा एउटा बर्थिङ सेन्टर स्थापना गर्न माग गरेका छन् । “प्रसुती सेवाका लागि हजारौ खर्च गरेर बेनी÷पोखराका अस्पतालमा जानुपर्ने बाध्यता रहेको छ, हुने खाने महिना दिन अघिनै बजार झरेर सुत्केरी भएपनि गरीब, विपन्न बर्गका गर्भवती महिलाहरु सुरक्षित प्रसुती सेवाबाट बञ्चित भएका छन् ”– डुवाडीकी स्थानीयबासी मन कुमारी छन्त्यालले भनीन् । सुत्केरी हुनका लागि सहरी क्षेत्रमा जाँदा न्युनतम पचास हजार रुपैया खर्च हुने गरेको छ ।

सरमुकाम वा पोखरा पुग्न नसक्ने महिलाहरु गाउँमै असुरक्षित रुपमा घरमै सुत्केरी हुने गरेका छन् । मातृ शिशु स्वास्थ्यमा सुधार ल्याउनका लागि सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालत गरिँरहँदा म्याग्दीका दुर्गम बस्तीका समस्याहरुप्रति स्थानीय सरकारहरु गम्भिर हुनुपर्ने देखिएको छ । तलब गाउँपालिका मार्फत उपलब्ध गराउन थालिएपनि कर्मचारी व्यवस्थापन सहितको अधिकार पूर्ण रुपमा स्थानीय तहमा हस्तान्तरण नहुँदा स्वास्थ्य सेवा व्यवस्थापनमा स्थानीय सरकारमा अन्यौलता छाएको छ ।
                                    गाउँपालिकामा स्वास्थ्यको अबस्था
रघुगंगा गाउँपालिका हरेक वडामा गरि ८ वटा स्वास्थ्य चौकी छन् । चिमखोला, बेग, दग्नाम र झिँ मा भवनको समेत अभाब छ । कुईनेमंगलेमा स्वास्थ्य चौकी भवन निर्माणधिन अबस्थामा छ । गर्भवती महिलाहरुलाई सुरक्षित रुपमा सुत्केरी गराउनको लागि पिप्ले, भगवती र पाखापानी स्वास्थ्य चौकीमा मात्रै बर्थिङ सेन्टर सञ्चालनमा छ । मापदण्ड अनुसारको भौतीक पूर्वाधार र बर्षमा १० देखि १५ जना सुत्केरी हुनुपर्ने आधारले अन्य स्वास्थ्य चौकीहरुमा बर्थिङ सेन्टरको सेवा थप गर्न कठिनाई देखिएको गाउँपालिकाले जनाएको छ ।

यो बर्ष झिँ मा बर्थिङ सेन्टर स्थापना गर्ने तयारी गरिएका गाउँपालिकाका स्वास्थ्य संयोजक टिकाबहादुर शाहीले बताए । ‘‘मापदण्ड अनुसारको भौतिक पूर्वाधार र जनघनत्व नहुँनु प्रमुख समस्या हो, हरेक बर्ष चरणबद्ध रुपमा बर्थिङ सेन्टर थप्दै लगेर ५ बर्षभित्र सबै स्वास्थ्य संस्थामा सुरक्षित प्रसुती सेवालाई विस्तार गर्ने योजना बनाएका छौँ’’–उनले भने । रघुगंगा गाउँपालिकामा अहिले स्वास्थ्यमा न्युनतम जनशक्ति रहेपनि तालिममा पठाउनुपर्ने र थप जनशक्ति माग गर्ने कुरा अन्यौलता रहेकाले केही समस्या देखिएको स्वास्थ्यका सहसंयोजक शिब प्रसाद पाण्डेले बताए । उनका अनुसार अहिले गाउँपालिकाभित्र २ जना हेल्थ असिस्टेन्ट , ३ जना अहेब , २ जना अनमीको दरबन्दि रिक्त छ ।

रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले गाउँपालिकाको सबै स्वास्थ्य संस्थामा प्रसुती गृह स्थापना गर्न प्रक्रिया थालनी भएको जानकारी दिए । उनले झिँमा प्रसुती केन्द्र सञ्चालनका लागि पालिकाले एक लाख रुपैया बिनियोजन गरेको जानकारी दिँदै आवश्यक औजार र पूर्वाधारको ब्यवस्था गरेर प्रसुती गृह सञ्चालन गर्ने र नयाँ भवन निर्माणका लागि पहल गर्ने बताए । स्वास्थ्य सेवाको आधार मानिएका महिला स्वास्थ्य स्वमसेवीकाहरुको लागि समेत गाउँपालिकाले मासिक एक हजार रुपैया यातायात खर्च र दुई सय रुपैया सञ्चार खर्च उपलब्ध गराउने नितीगत निर्णय गरेको अध्यक्ष भण्डारीले जानकारी दिए । रघुगंगामा ७२ जना महिला स्वास्थ्य स्वमसेवीकाहरु कार्यरत छन् ।

 

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l