रघुगंगामा ब्यापार ब्यवसायलाई गाउँपालिका मातहत ल्याउन सुरु

  • ५ मंसिर २०७५, बुधबार
  • कमल खत्री
  • 2336 पटक पढिएको

बेनी, ५ मंसीर। म्याग्दीको रघुगंगा गाउँपालिका क्षेत्रमा सञ्चालीत उद्योग, पसल, फर्म र ब्यवसायलाई स्थानीय तहको मातहत ल्याउन सुरु गरिएको छ । गाउँपालिकाको ८ वटै वडामा रहेका ब्यापार ब्यवसायलाई दर्ता प्रक्रियामा ल्याउन लागिएको हो । मंगलवार रघुगंगा गाउँपालिका–२ भगवतीबाट औपचारिक रुपमा व्यवसाय दर्ताको काम सुरु भएको वडा अध्यक्ष रिम बहादुर कटुवालले जानकारी दिनुभयो । गाउँपालिकाले सुरु गरेको व्यवसाय दर्ता अभियानमा पहिलो पटक वडा नम्बर २ जैसिखोरकी यसोदा शर्माले व्यवसाय दर्ता गरि प्रमाणपत्र लिनुभएको छ ।

उहाँलाई गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारी, प्रमुख प्रशासकिय अधिकृत रमेश थापा र वडा अध्यक्ष कटुवालले संयुक्त रुपमा व्यवसाय दर्ताको प्रमाणपत्र प्रदान गर्नुभएको थियो । मंगलवार भगवतीमा ३ जनाले व्यवसाय दर्ता गरेका छन् । भगवतीबाट सुरु गरिएको व्यवसाय दर्ताको अभियानलाई वडा स्तरमा जनप्रतिनिधि र कर्मचारीहरुको टोली परिचालन गरि ब्यवसाय दर्तालाई प्रभाबकारी बनाईने प्रमुख प्रशासकीय अधिकृत थापाले बताउनुभयो ।


स्थानीय सरकार संचालन ऐन २०७४ अन्र्तगत दफा ५८ मा भएको व्यवस्था अुनसार गाउँपालिका क्षेत्रभित्र सञ्चालित व्यापार व्यवसायको पुँजीगत लगानी तथा आर्थिक कारोवारको आधारमा व्यवासय दर्ता गरि करको दारदायामा ल्याउन लागिएको हो । ब्यवसायलाई करको दायरामा ल्याई व्यवस्थित बनाउने र उत्पादनमुलक ब्यवसायलाई प्रोत्साहनको निती अवलम्बन गरिने गाउँपालीकाका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

व्यवसाय दर्ताको लागि वडा कार्यालय मार्फत बस्ती स्तरमा पुगेर दर्ता नगरी सञ्चालनमा रहेका व्यवसायीहरुलाई दर्ता प्रकृयामा ल्याउन अभियानकै रुपमा अघि बढिने गाउँपालिकाले जनाएको छ । यसैबिच रघुगंगा गाउँपालिकाले ६० बर्ष उमेर पुगेका नागरिकहरुलाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण सुरु गरेको छ ।

ज्येष्ठ नागरिक ऐन २०६३ को दफा ९ अनुसार सवारी भाडादर र स्वास्थ्य उपचारमा कम्तीमा ५० प्रतिशत छुट दिने प्रावधान अनुसार ६० बर्ष उमेर पुगेका नागरिकलाई परिचयपत्र वितरण सुरु गरिएको प्रमुख प्रशासकिय अधिकृत थापाले जानकारी दिनुभयो । मंगलवार भगवतीमा ६ जनालाई परिचयपत्र विरतण गरिएको छ ।

गाउँपालिका कार्यालय मार्फत नियमित रुपमा उमेर पुगेको कागजात ल्याएर आउने नागरिकलाई सो परिचय पत्र उपलब्ध गराईने व्यवस्था मिलाईएको छ ।
तस्बिर : निर्मल खत्री

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l