मिलन म्याग्दीको १४औं वार्षिक साधारणसभा
- २८ आश्विन २०७५, आईतवार
- प्रताप बानियाँ
- 1882 पटक पढिएको
म्याग्दी, २७ असोज । मिलन म्याग्दीको शनिबार सदरमुकाम बेनीमा १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै सांसद भूपेन्द्रबहादुर थापाले गैरसरकारी संघसंस्थाहरु राज्यको सहयोगी निकाय भएको बताएका छन् ।
उनले राज्य पुग्न नसकेका ठाउँहरुमा पुगेर नागरिकलाई सेवासुविधा उपलब्ध गराउनुपर्ने भन्दै समाजमा सचेतनामूलक र दीगो विकासका कार्यक्रमहरु सञ्चालन गरी सबैलाई सुसूचित गराउनुपर्नेमा जोड दिएका थिए । उनले मिलन म्याग्दीले जिल्लामा सञ्चालन गरेको भौतिक पूर्वाधार र सचेतनामूलक कार्यक्रमहरु प्रभावकारी रहेको बताउँदै आगामी दिनमा कार्यक्षेत्र विस्तार गरेर कार्यक्रम गर्न सुझाव दिएका छन् ।
कार्यक्रममा धौलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जिल्लाको ग्रामीण भेगमा पुगेर कार्यक्रम सञ्चालन गर्दा स्थानीय तहसँग समन्वय गर्न आग्रह गर्दै आवश्यक सहयोग गर्ने बताएकी थिइन् । कार्यक्रमको अवसरमा मिलन म्याग्दीले उत्कृष्ट राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानित संस्थाका आजीवन सदस्य एवं पाउद्धार मावि पाउद्धारका प्रधानाध्यापक थममाया पुनलाई सम्मानपत्रसहित सम्मान गरेको थियो ।
यसैगरी मिलनमा कार्यरत कर्मचारी सव–इन्जिनियर सुरेशकुमार जिसी, सुआहाराका फिल्ड संयोजक बालकुमारी पुन र लेखापाल हिरा बरुवालसहित फिल्ड सुपरभाइजरहरुलाई पनि सम्मान गरिएको छ ।
कार्यक्रममा संस्थाको आजीवन सदस्यता समेत वितरण गरिएको थियो । साधारणसभामा संस्थाका सचिव कमला बानियाँ थापाले प्रगति र कोषाध्यक्ष दिलमाया बिटालुले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको गतवर्ष एक करोड ५३ लाख ५८ हजार ९५३ आय रहेकोमा एक करोड ५३ लाख ३३ हजार ८९६ रुपैयाँ खर्च भएको जनाएको छ । साधारणसभाले प्रस्तुत दुवै प्रतिवेदनलाई पारित गरेको छ ।
मिलन म्याग्दीका अध्यक्ष विनय श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष शिव बानियाँको स्वागत र सचिव कमला बानियाँको सञ्चालनमा सम्पन्न कार्यक्रममा सम्मानित व्यक्तित्व थममाया पुनले मन्तव्य राखेकी थिइन् । २०५६ सालमा स्थापित मिलन म्याग्दीले जिल्लाको ग्रामीण भेगमा सचेतनामूलक कार्यक्रमका साथै झोलुङ्गे पुल निर्माण र पछिल्लो समय सुआहारा कार्यक्रम सञ्चालन गरिरहेको छ ।