अपडेटः गुर्जा हिमालको फेदीमा ८ पर्यटकको शब भेटियो, आईतवार हेलीकप्टर मार्फत उद्धार गरिने
- २७ आश्विन २०७५, शनिबार
- कमल खत्री
- 2847 पटक पढिएको
म्याग्दी, २७ असोज । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा अवस्थित सात हजार १९३ मिटर अग्लो गुर्जा हिमाल आरोहणको लागि आधार शिविरमा पुगेका ९ पर्यटक र पथपदर्शक मध्ये ८ जनाको शब भेटिएको छ । हिमाल आरोहणको लागि आधार शिविर पुगेका ४ जना दक्षिण कोरियाली र ३ जना नेपाली तथा पदयात्राको लागि पुगेका १/१ जना नेपाली र कोरियाली नागरिकको हिम आँधीहुरीमा परेका हुन् । फरक फरक समयमा आधार शिविर पुगेका दुई टोलीमध्ये पछिल्लो पटक गुर्जाकै स्थानीय नेत्रबहादुृर छन्त्याल सहित पुगेको टोलीले असोज २४ गते साँझ सकुसल आधार शिविर पुगेको जानकारी गराएका थिए । सोही दिनपछि सञ्चार सम्पर्क विच्छेद भएको र खोजी गर्दै जाँदा सबहरु फेला परेको र कोहीपनि जिवित फेला पार्न नसकिएको धौलागिरि गाउँपालिका–१ गुर्जाका वडा अध्यक्ष झक बहादुर छन्त्यालले बताउनुभयो ।
सुरुमा आरोहणको लागि गएका पर्यटकहरु बेपत्ता भएको भनिएपनि टेकिङ्ग कम्पनीले हेलीकप्टरबाट स्थलगत अवलोकन गर्दा कोही पनि जिवित फेला नपरेको र सबहरु छरिएर रहेको अबस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरिक्षक बिरबहादुर बुढा मगरले बताउनुभयो । उहाँका अनुसार हेलीकप्टरबाट गएको टोलीले ८ जनाको सब देखेपनि स्थलगत रुपमा गएका स्थानीयले अहिलेसम्म ७ जनाको मात्रै सब फेला पारेका छन् ।
घटनास्थलमा पुगेर फर्किएका ट्रेकिङ क्याम्प नेपालका लाक्पा शेर्पाले रातमा आएको आँधी हुरीले टेण्टभित्र रहेका पर्यटकहरुलाई उडाएको अनुसक्ने बताउनुभयो । ‘‘घटनास्थलमा पर्यटकका शबहरु टाढा टाढा पु¥याएको छ, एक किलोमिटर टाढासम्म सबहरु छरिएका छन्,उनीहरुका सामानहरुपनि लथालिंग भएकोे छ’’–शेर्पाले भन्नुभयो। घटनास्थलदेखि केही तल रहेको जंगलका रुखहरु समेत भाँचिएको र जरादेखि नै ढलेको कारण हिमआँधीहुरीले आरोहणमा जाँदै गरेका पर्यटकहरु दुर्घटनामा परेको शेर्पाको भनाई छ ।
घटनास्थलबाट सबैभन्दा नजीक रहेको ताकम प्रहरी चौकीबाट उद्धारको लागि प्रहरी खटिएको छ । ताकमबाट गुर्जा हुँदै आधार शिविर पुग्न झण्डै २ दिन बढी लाग्छ । पर्यटन विभागबाट ६० दिनभित्र हिमाल आरोहणको अनुमती पाएको सो टोली टे«कीङ्ग क्याम्प नेपाल मार्फत गुर्जा हिमालको दक्षिणी मोहोडाबाट हिमाल आरोहणको लागि आधार शिविर पुगेका थिए । जिल्लाको सबैभन्दा बिकट गाउँको रुपमा चिनिने गुर्जाबाट गुर्जा हिमालको आधार शिविरमा ४ देखि ८ घण्टामा पुग्न सकिन्छ ।
हिउँमा छरिएका शबहरुहरु संकलन गरि उद्धार गर्न र अबस्था पक्ता लाग्न नसकेकाहरुको खोजी गर्न सम्बन्धित ट्रेकिङ्ग कम्पनी र गृहमन्त्रालयसंग समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताउनुभयो । प्रजिअ अधिकारी, प्रनाउ बुढामगर, श्रीबक्स गुल्मका गुल्मपती राजन दाहाल लगायतको उपस्थितिमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले समेत आधार शिविरमा मृत अबस्थामा फेला परेका पर्यटकहरुको उद्धारमा आबश्यक सहयोग र पहल गर्न गृहमन्त्रालयलाई अनुरोध गरेको छ ।
यसरी सुरु भएको थियो यात्रा
सात हजार १९३ मिटर उचाईको गुर्जा हिमाल आरोहणको लागि दक्षिण कोरियाका नागरिक किम चङ हो को नेतृत्वमा ४ कोरियन र ३ जना नेपाली टोली आरोहणको लागि असोज २१ गते आधार शिविर पुगेका थिए । ७ जनाको आरोही टिमलाई भेटघाट र आबश्यक परामर्शको लागी असोज २४ गते थप २ जना कोरियन पर्यटकलाई लिएर टे«कीङ क्याम्प नेपालका पथपदर्शक लाक्पा शेर्मा र गुर्जाका स्थानीय पथपर्दशक नेत्र बहादुर छन्त्यालको टोली आधार शिविर प्रस्थान गरेका थिए । बिचबाटोमा पुगेपछि बृद्ध अबस्थामा रहेका कोरियन नागरिक हङ जोन चोइ आधार शिविर पुग्न नसक्नेपछि उनलाई बिचबाटोबाटै शेर्पाले गुर्जा फिर्ता गराएका थिए भने गुर्जाका छन्त्यालको साथमा अर्का कोरियन नागरिक जोन मो जोङ आधार शिविरतर्फ लागेका थिए ।
आधार शिविर तर्फ लागेका २ जनाको टोली सकुसल आधार शिविर पुगेका खवर आएको र त्यसपछि उनीहरुसंगको सम्पर्क बिच्छेद भएपछि गुर्जाका स्थानीयबासी र पथपदर्शक शेर्पा समेतको टोलीले शुक्रवार दिउँसो खोजी गर्दै जाँदा आरोही र पर्यटकको टोली आँधीहुरीमा परेर ज्यान गुमाएको अबस्थामा फेला पारेका थिए । ‘‘ पछिल्लो टोली एक दिनमात्रै बसेर फर्कने तालिका थियो, तर उनीहरु नै दुर्घटनामा पर्नुले असोज २४ गते नै घटना घटेको देखिन्छ, जब त्यो टोली फर्कन ढिला गरेपछि आंशका बढ्यो, किन ढिलाई गर्यो भनेर खोजी गर्दा सबहरु भेटिए’’– गुर्जाका वडा अध्यक्ष छन्त्यालले भन्नुभयो । यता आधार शिविरमा रहेका शबलाई हेलीकप्टर मार्फत उद्धार गर्ने तयारी गरिएको ट्रेकिङ्ग क्याम्प नेपालका म्यानेजर वाङ्चु शेर्पाले जानकारी दिनुभयो । शनिवार गएको टोलीले अप्ठ्यारो रहेको भन्दै फर्किएपछि आईतवार दक्ष जनशक्ति सहितको टोली हेलीकप्टर मार्फत उद्धारको लागि खटाईने उहाँले बताउनुभयो
गुर्जा हिमालकाृ आधार शिविर पुगेका पर्यटकहरुको विवरण
कोरियन नागरिक
JAEHUN LEE DOB
CHANG HO KIN DOB
IL JIN RIM DOB
YOUNGJIK YOO DOB
JOON MO JEONG DOB
नेपालीहरु ः
म्याग्दीको गुर्जाका नेत्रबहादुर छन्त्याल
संखुवासभाका छिरिङ भोटे, लाक्पा साङ्बु भोटे, फुर्बु भोटे
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l