मृगौला पिडितको उपचारका लागि प्रवासीबाट साढे तीन लाख सहयोग
- १७ आश्विन २०७५, बुधबार
- 1835 पटक पढिएको
बेनी १७ असोज । म्याग्दीको मंगला गाउँपालिका ५ नेटाका मृगौला पिडित सुरेश छन्त्यालको उपचारका लागि मंगलबार प्रवासीहरुबाट करिब साढे तीन लाख रुपैया सहयोग प्राप्त भएको छ । दुव मृगौलाले काम गर्न छाडेपछि थलीएका १९ वर्षीय छन्त्यालको उपचारका लागि ओमकुमारी शान्ति कोषले सञ्चालन गरेको सुरेश बचाउ अभियानमा एकै दिन तिन लाख ४४ हजार ९०० रुपैया सहयोग संकलन भएको हो ।
विभिन्न देशबाट संकलन गरेर पठाइएको रकम कोषका अध्यक्ष राजेश शाक्य र सुरेशकी आमा सितालाई हस्तान्तरण गरिएको अभियानका अगुवा लालकुमार रोकाले बताउनुभयो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्याडका कोषाध्यक्ष जंग अधिकारी र सदस्य बल क्षेत्रीको पहलमा एक लाख ५६ हजार ४४४, हाल मलेसीयामा रहेका मंगला ४ झाँक्रेपानीका टक छन्त्यालको पहलमा ८४ हजार र टर्कीमा रहेका मंगला ५ सिरकुमका कमल बुढाथोकीको पहलमा २९ हजार रुपैया सहयोग जुटेको छ ।
यसैगरी कतारमा रहेका मंगला १ पूर्णगाउँका मनोज बानियाको पहलमा २३ हजार ८५०, मंगला ३ आरवाङका राजु रोकाको पहलमा मलेसीयाबाट १६ हजार ६८३, मंगला १ कुहुँका मिराज पुनको पहलमा साउदीबाट पाँच हजार, अस्टे«लीयामा रहेका, धवलागिरी गाउँपालिका ५ मल्कवाङका उत्तम भलञ्जा छन्त्यालबाट पाँच हजार ५ र रवीन छन्त्यालबाट दुई हजार रुपैया सहयोग प्राप्त भएको छ ।
बेनपा ५ डडुवाका टिकामाया पाइजाबाट तीन हजार, सन्तमाया पुनबाट तीन हजार, मंगला १ पूर्णगाउँका शंकर अर्मजाबाट पाँच हजार पाँच, पोखरा महानगरपालिका २ घर भई हाल बेनीको माउन्ट एभरेष्ट आवासीय माविका शिक्षक प्रदिप परियारबाट पाँच हजार रुपैयाँ सहयोग प्राप्त भएको कोषले जनाएको छ । सुरेशको मृगौला प्रत्यारोपणका लागि कोषले २०७५ भदौ ५ गतेदेखि सुरु गरेको अभियान मार्फत हालसम्म बीस लाख रुपैया संकलन भएको छ । सुरेशको काठमाडौ स्थित अलका अस्पतालमा उपचार भइरहेको छ । परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि अभियान सञ्चालन गरिएको हो ।