अमर माविमा विद्यार्थीलाई लगाईएको निलम्बनको निर्णय फिर्ता, अपुग बिषयगत शिक्षक तत्काल व्यवस्था गरिने

  • १६ आश्विन २०७५, मंगलवार
  • कमल खत्री
  • 3741 पटक पढिएको

म्याग्दी, १६ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका– ७ चिमखोलामा रहेको अमर माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई लगाईएको निलम्बनको निर्णय फिर्ता भएको छ । नियमित रुपमा पठनपाठनको माग सहित आन्दोलीत बनेका कक्षा १० का २२ जना विद्यार्थीहरुमाथि विद्यालयले १ महिनासम्म निलम्बन गर्ने निर्णय गरेको थियो । विद्यालयले अधिकार क्षेत्रबाहिर गएर लगाएको निलम्बनको निर्णय फिर्ता गरेसंगै बुधबारदेखि सबै बालबालिकाहरु नियमीत रुपमा विद्यालयमा जान पाउने भएका छन् ।

मंगलवार रघुृगंगा गाउँपालिकाको कार्यालय मौवाफाँटमा आयोजित सर्वपक्षित बैठकमा विद्यालय व्यवस्थापन समिति, प्रअ, शिक्षक अभिभावक संघ, वडाका जनप्रतिनिधिले विद्यार्थीहरुलाई एक महिनासम्म निलम्बन गर्ने निर्णय फिर्ता गर्ने घोषणा गरेका हुन् । जिल्ला स्थित सरोकारवालाहरुको समेत उपस्थिती रहेको सो छलफल कार्यक्रममा विद्यार्थीहरुको अध्ययन गर्न पाउने नैसरर्गीक अधिकारलाई सुनिश्चित गर्न विद्यालयले लगाएको निलम्बन पूर्ण रुपमा फिर्ता लिने र लिन लगाउने निर्णय भएको स्रोत व्यक्ति बालकृष्ण उपाध्याले जानकारी दिनुभयो ।

उहाँका अनुसार, विद्यालयमा बिगत ६ महिनादेखि रोकिएको कक्षा १० को विज्ञान बिषयको पठनपाठन सुचार गराउनको लागि तत्काल शिक्षा विकास तथा समन्वय ईकाइ बेनीमा विज्ञान बिषयको शिक्षक करार नियुक्तको लागि अनुमती माग गर्ने र समयमै शिक्षक उपलब्ध हुन नसकेमा निजी स्रोतबाटै भएपनि शिक्षकको व्यवस्थापन गर्ने निर्णय भएको छ ।त्यस्तै केही महिनादेखि रोकिएको कम्प्युटर बिषयको पठनपाठनलाई सुचारु गराउन यस अघि नै कार्यरत रहेका रिम पाईजालाई मासिक रु १८ हजार तलब दिने गरि अध्यापनमा लगाउने निर्णय भएको छ । सो बैठकले यस अघि सो विद्यालयका प्रधानध्यापक पृथबहादुर थापाले एसईई परिक्षामा सबै बिषयको प्रयोगात्मक परिक्षाको अंक दिदै आएकोमा आगामी दिनदेखि सम्बन्धित बिषय शिक्षकले मात्रै प्रयोगात्मक परिक्षाको अंक दिन लगाउने निर्णय समेत गरेको छ ।

जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र बहादुर केसी, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापा, शिक्षकका पेशागत संगठनका प्रतिनिधि, पत्रकार, विद्याथी संगठनका प्रतिनिधि, आन्दोलन गरेका विद्यार्थी, व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावक, वडा अध्यक्ष देउप्रसाद पुन, प्रअ थापा लगायतको समेत सहभागीता रहेको उक्त सर्वपक्षिय छलफलपछि भएको निर्णय अनुसार बुधवारदेखि नै विद्यालयमा शान्त र भयरहित वातावरणमा नियमित पठनपाठन सुचारु हुने गाउँपालिका अध्यक्ष भब बहादुर भण्डारीले जानकारी दिनुभयो ।

यस विद्यालयमा लामो समयदेखि विज्ञान र कम्युटर बिषयका शिक्षक नहुँदा आफ्नो नियमित पठनपाठन नै प्रभावित बनेपछि विद्यार्थीहरुले विद्यालयको ध्यानकर्षण गराउन असोज १० गते तालाबन्दि गरेका थिए । विद्यालयमा अमर्यादीत व्यवहार प्रदर्शन गरेको भन्दै आईतवार वडाका जनप्रतिनिधि, पार्टी प्रतिनिधि, अभिभावक लगायतको बैठकबाट कक्षा १० मा अध्ययनरत २५ जनामध्ये ३ जनालाई मात्रै नियमित अध्ययन गर्न सक्ने गरि अन्य २२ जनालाई एक महिनासम्म निलम्बन गर्ने निर्णय भएको थियो ।
यसरी फिर्ता भयो विद्यार्थीमाथिको निलम्बन
विद्यालयले आफुहरुमाथि एक महिनाको निलम्बन गर्ने निर्णय गरेपछि मंगलवार एक दर्जन बढी विद्यार्थीहरु अभिभावकको साथमा गाउँ छाडेर न्याय खोज्न सदरमुलकाम तर्फ हिँडे । विद्यार्थीहरु विद्यालयमा विज्ञान र कम्प्युटर बिषयको शिक्षक माग गर्न भन्दै शिक्षा विकास तथा समन्वय ईकाइमा ध्यानकर्षण गराउन आउन लागेको सुचना पाएपछि जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसी, गाउँपालीका अध्यक्ष भब बहादुर भणडारी र शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दलबहादुर थापाको पहलमा सो बिषयलाई गाउँपालिका कार्यालयमै छलफल गरि टुंगो लगाउने गरि जिल्ला स्थित सरोकारवालाहरु समेत रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा पुगे ।

विद्यालयका प्रअ थापा सहित, शिक्षक अभिभावक संघ, व्यवस्थापन समिति, विद्यालयका शिक्षकहरु र वडाका जनप्रतिनिधिहरु समेत गाउँपालिकामा आए । झण्डै ५ घण्टा लामो छलफलपछि विद्यालय विद्यार्थीहरु माथि लगाईएको एक महिनाको निलम्बन फिर्ता लिन तयार भयो ।
कार्यक्रममा कस्ले के भने
विद्यार्थीमाथि लगाईएको निलम्बनको निर्णयबारे छलफल गर्न आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसीले बालबालिकाहरुले आफ्नो बिषयगत शिक्षकको माग गर्नु स्वभावीक रहेकाले उनीहरुमाथि लगाईएको निलम्बन सही नभएको बताउनुभयो । उहाँले विद्यालयले विद्यी र नियमलाई तोडेर विद्यार्थीमाथि निलम्बन गर्ने निर्णय गरेपनि छलफलपछि सो निर्णय फिर्ता लिने समझदारी बनेकाले आगामी दिनमा सहज रुपमा विद्यालयमा पठनपाठन हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले विद्यालयमा तालाबन्दि सहित आन्दोलन गरेको कारण विद्यार्थीहरु एक महिनलाई निलम्बन गरेको निर्णय सार्वजनिक भए लगत्तै आफुले सो निर्णय फिर्ता लिन निरन्तर दबाब दिँदै आएको र छलफलपछि सो निर्णय फिर्ता र आबश्यक शिक्षकहरुको व्यवस्थापनको लागी समेत आबश्यक प्रकृयाहरुको थालनी भएको बताउनुभयो । शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख दलबहादुर थापाले आफ्नो अधिकार क्षेत्रभन्दा माथि उठेर गरिएको निर्णय फिर्ता संगै विद्यालयको नियमित पठनपाठन र गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ततर्फ सबै सरोकारवालाहरुको ध्यानकर्षण हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजाले विद्यालयको शैक्षिक वातावरणलाई शान्त र मर्यादीत बनाउन शिक्षक, विद्यार्थी, अभिभावक सबै सचेत र जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । शिक्षक महासंघका अध्यक्ष दुर्गाराम सुवेदी, राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष जयराम सुवेदी, एकिकृत अखिल नेपाल शिक्षक संगठनका उपाध्यक्ष देवराज शर्माले विद्यालयले विद्यार्थीहरुमाथि लगाएको प्रतिबन्ध अधिकार क्षेत्रबाहिर र निति नियम विपरित रहेकाले सो कार्य सच्याएर विद्यार्थिहरुलाई उचित वातावरणमा आबश्यक बिषयगत शिक्षकको बन्दोबस्त गरे पठनपाठन गराउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा युवा नेता केवी भण्डारीले समुदायको एकताले मात्रै विद्यालयको समस्या सम्भव रहेकाले आपसका तिक्तलाहरुलाई मेटेर अगाडी बढ्न सुझाब दिनुभयो । कार्यक्रममा अनेरास्ववियुका जिल्ला अध्यक्ष सुवास विश्वकर्मा, नेविसंघका निर्मल खत्रीले बालबालिकाहरुको माग जायज रहेकाले उचित सम्बोधन गर्नुपर्नेमा ध्यानकर्षण गराउनुभयो । सो क्रममा विद्यालयबाट आएका विद्यार्थीहरुले ६ महिनामा विज्ञान बिषयका एक पाठ मात्रै पढाई हुनु, कम्प्युटर शिक्षक नहुँनुले आफुहरुको पढाई हनन भएकाले आन्दोलनमा उत्रिनुपरेको बताएका थिए । विद्यालयले आफुहरुमाथि लगाएको निलम्बनको निर्णय फिर्ता र लामो समयदेखि नभएका विज्ञान र कम्प्युटर बिषयको शिक्षकको समेत तत्काल बन्दोबस्त मिलाउने निर्णयले आफुहरु खुसी भएको उनीहरुले प्रतिकृया दिए ।

विद्यालय परिवारको दावी यस्तो छ
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्र बहादुर बुढाले बिगतमा पनि विद्यालयमा गम्भिर गल्ती गर्ने विद्यार्थीहरुलाई केही समयको लागि निस्कासन गर्ने चलन रहेकाले यस पटक पनि विद्यार्थीहरुले गल्ती नदोहोराउन भन्ने उदेश्यले सबैको छलफलबाट सो निर्णय भएको जानकारी दिनुभयो । बालबालिकाहरु थप गलत कार्यमा नलागुन भनेर निर्णय भएपनि विद्यालयको पठनपाठनलाई सहज बनाउन र समस्या हल गर्नको लागि सरोकारवालाहरुको सुझाबपछि सो निर्णय फिर्ता लिईएको उहाँले बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष देउ प्रसाद पुनले सबै तर्फबाट सुझाब आएपछि गाउँमै समस्या हल गर्न प्रयास गरिएपनि विद्यार्थीहरु हिँडेकाले सम्भव नभएको बताउनुभयो ।

त्यस्तै प्रधानध्यापक पृथबहादुर थापाले आफुहरु विद्यालयको समस्याप्रति गम्भिर हुँदा हुँदै पनि विद्यार्थीहरुबाट एक्कासी तालाबन्दि हुनु दुखत रहेको र उनीहरुको व्यवहारबाट अन्य शिक्षकहरु र विद्याथीमाथि नराम्रो परेकाले गल्ती गरेकाहरुलाई सच्चीनको लागि गाउँका सबै सरोकारवालाहरुको भेलाबाट भएको निर्णय बमोजिम एक महिनालाई निलम्बन गर्ने निर्णय हुन पुगेको बताउँदै आगामी दिनमा यस्ता कमजोरी हुन नदिन आफु सचेत रहने बताउनुभयो । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष लक्षुमन पुन र स्थानीय युवा ओम पुनले विद्यालयको शैक्षिक वातावरणलाई सहज बनाउन सबै जिम्मेवार निकाय गम्भीर हुनुपर्नेमा जोड दिनुभएको थियो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l