हिलापोखरीका बासिन्दाको श्रमदानबाट पदमार्ग

  • १६ आश्विन २०७५, मंगलवार
  • 3532 पटक पढिएको

बेनी १६ असोज । म्याग्दीको धवलागिरी गाउँपालिका–७ हिला पोखरीका बासिन्दाले श्रमदान गरेर पदमार्ग निर्माण गरेका छन् ।हिलापोखरी टोल सुधार समितिको सक्रियता माधौलागिरि चक्रियपदमार्ग अन्तरगत ७ नम्बर वडामा पर्ने ताकम देखि हिलापोखरी खोरवाङ हुदै ४ नम्बर वडामा पर्ने खारा जोड्ने पदमार्ग निर्माण गरेका हुन् ।

६९ घरधुरीले तिनदिनका दरले श्रमदान गरेर पाँच किलोमिटर भन्दा बढी पदमार्ग निर्माण गरिएको समितिका अध्यक्ष राम्जी मल्लले जानकारी दिए । धवलागिरि चक्रिय पदमार्गको भ्रमणमा आउने पर्यटक र स्थानीयबासीको सुबिधाका लागि पदमार्ग निर्माण गरेको मल्लले बताए ।
स्थानीयबासीले घाँस दाउरा र खेतीबाली लगाउन आवतजावत गर्ने परम्परागत घोरेटो बाटोलाई फराकीलो बनाउने, झाडी फाडेर सरसफाई गर्ने, पहिरो पन्छाउने, सिढी बनाउने गरिएको छ । खिवाङ, हिलापोखरी, मुदी, बगर, खारा, खाम्ला, बाँसबोट, चुचुङ, नाउराका बासिन्दालाई सुबिधा पुगेको छ ।

यो पदमार्ग धौलागिरि चक्रिय पदमार्गको ताकम मुना मुदी र बिम कल्लेनीबाँसबोट खण्डको विकल्प भएको हिलापोखरीका याम पुनले बताए । अन्य दुई वटा भन्दा यो नयाँ पदमार्ग छोटो छ । पर्यटकको चार वटा समूह यही पदमार्ग भएर धवलागिरी आधार शिवीरतर्फ गएका टोल सुधार समितिका अध्यक्ष मल्लले बताए ।