सुन्तला ‘जोन’ कार्यान्वयनको विषयमा छलफल
- १० आश्विन २०७५, बुधबार
- सन्ताेष गाैतम
- 2514 पटक पढिएको
बेनी १० असोज । सुन्तलाको ब्यवसायिक कृषि उत्पादन तथा प्रसोधन केन्द्र (जोन) विकास कार्यक्रम कार्यान्वयनका विषयमा बुधबार बेनीमा सरोकारवालाहरुबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।छलफलपछि बेनी र बागलुङ नगरपालिका, जलजला, रघुगंगा, मंगला, मालिका र काठेखोला गाउँपालिकालाई समेटीएको सुन्तला जोन कार्यक्रम लागु हुने वडा छनौट भएको छ । बेनी नगरपालिकाको भकिम्ली, बास्कुना, घतान र पात्लेखेत, बागलुङ नगरपालिकाको भकुण्डे र सिगानालाई सुन्तला जोनमा समावेश गर्न सिफारीस गरिएको छ ।
यसैगरी काठेखोला गाउँपालिकाको रेश र बिहु, जलजला गाउँपालिकाको बाँसखर्क, मल्लाज, शालीजा र बनौमा कार्यक्रम लागु हुने भएको छ । रघुगंगा गाउँपालिकाको बेग, भगवती, पिप्ले, मंगलाको कुहुँ, बाबियाचौर, बरंजा र अर्मन, मालिकाको देविस्थान र बिमलाई जोन कार्यक्रम लागु गर्न अध्ययनका लागि आएको प्राबिधिक समितिलाई सिफारीस गरिएको छ ।
जोनमा नसमेटिएका सुन्तला उत्पादन हुने ठाउँमा पकेट क्षेत्र विस्तारका लागि पहल गर्ने निर्णय भएको कृषि ज्ञान केन्द्र बेनीका बागबानि विकास अधिकृत भोजबहादुर थापाले बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सुन्तलाको ब्यवसायीक खेती विस्तार, गुणस्तर सुधार, उत्पादन वृद्धी र बजारीकरणमा सघाउने गर्ने उद्देश्यले जोन कार्यक्रम कार्यान्वयनको तयारी गरेको छ ।
न्युनतम पाँच सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती भएको भुगोललाई समेटेर कार्यक्रम लागू गरिएको सुन्तला जोनका प्रमुख बोमबहादुर थापाले बताउनुभयो । बिरुवा उत्पादन, प्राबिधिक सहयोग, कृषि बजार केन्द्र स्थापना, प्रसोधन केन्द्र, ग्रेडीङ तथा संकलन गर्ने गोदाम, सिचाई, कृषि औजार, यन्त्र उपकरण, प्रर्दशनी, बजारीकरण लगायतका क्षेत्रमा सहयोग गरिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका बरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत ईन्द्रहरी पौडेलले बताए ।
कृषकहरुलाई सुन्तला खेती सम्बन्धि योजनाका लागि पचास देखि ८५ प्रतिशतसम्म अनुदान उपलब्ध गराइने पौडेलले बताए । दश वर्ष सम्मका लागि लागु हुने कार्यक्रमबाट सुन्तलाको उत्पादन वृद्धी, गुणस्तर सुधार र आयात न्युनीकरण गर्ने सरकारको लक्ष्य छ ।
जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीको अध्यक्षता, कृषि ज्ञान केन्द्र बेनीका प्रमुख नरेशचन्द्र घिमीरेको स्वागत मन्तब्य र बागबानि विकास अधिकृत भोजबहादुर थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि, कृषि प्राबिधिक र अगुवा कृषकहरुको सहभागीता रहेको थियो । कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मीले परियोजना र जोनको बारेमा जानकारी गराएका थिए ।