कर्मचारीले असहयोग गरे–मन्त्री पुन

  • ३० भाद्र २०७५, शनिबार
  • सन्तोष गौतम
  • 2047 पटक पढिएको

बेनी ३० भदौ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रदेश सरकारसंग कर्मचारी नहुँदा काम गर्न समस्या भएको बताउनुभएको छ । बेनीमा शुक्रबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको कार्यालय उद्घाटन गर्नुहुदै मन्त्री पुनले प्रदेश सरकारको मातहत कर्मचारी नभएको र भएका कर्मचारीहरुले असहयोग गर्दा काम गर्न अप्ठ्यारो परेको बताउनुभयो । कर्मचारीहरुले आफू संघीय सरकारको मात्र भएको जस्तो ब्यवहार र कार्यशैली देखाएकोमा आक्रोश ब्यक्त गर्दै मन्त्री पुनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारीहरुको गैरजिम्मेवार र असहयोगी कार्यशैलीका कारण स्वास्थ्य क्षेत्र भद्रगोल बनेको आरोप लगाउनुभयो ।

संघीय सरकारको स्वास्थ्य मन्त्रालयको लापरबाहीका कारण सुगम क्षेत्रमा चिकित्सक थुप्रिने र दुर्गम क्षेत्रका अस्पतालमा बिशेषज्ञ चिकित्सक नहुँदा सर्वसाधारण मर्कामा परेको बताउनुभयो । उहाँले बेनी अस्पतालमा प्रमुख पठाउने विषयमा स्वास्थ्य मन्त्रालयका सचिवले आफूलाई ढाँटेको बताउनुभयो । प्रदेश सरकारले कार्यबिधी, बजेट र कार्यक्रम तयार गरेर कार्यान्वयनमा अघि बढ्ने तयारी गरेको जानकारी गराउदै मन्त्री पुनले स्वास्थ्य क्षेत्रको सुधारका लागि ब्यवस्थापन, उपकरण र जनशक्तिको व्यवस्थामा प्राथमिकता दिने बताउनुभयो ।

मन्त्री पुनले जडिवुटी खेती विस्तार गरेर आयुर्वेदीक औषधी उत्पादन गर्ने, योगा कक्षा सञ्चालन गर्ने र जिवनशैली सुधारका लागि कार्यक्रम तय गरिएको बताउनुभयो । प्रदेश सरकार अघि बढ्न खोजेपनि संघीय सरकारसंग तालमेल नमिलेको उहाँको अनुभव थियो । यसअघि संघीय सरकार मातहत रहेको आयुर्वेद स्वास्थ्य केन्द्र अबदेखि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मार्फत रहने कार्यालय प्रमुख रमेश शर्मा भुषालले बताउनुभयो । चन्द्रदत्त आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा भुषालले कार्यालयको सेवा प्रवाहको अवस्था र गतिबिधीको बारेमा जानकारी गराउनुभएको थियो ।

सन्तोष गौतम