वडा कार्यालयको खर्च कटाएर विरामीको उपचारको लागि सहयोग

  • ८ असार २०७५, शुक्रबार
  • कमल खत्री, सन्तोष गौतम
  • 2873 पटक पढिएको

पोखरेबगर म्याग्दी, ८ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको वडा कार्यालयले मसलन्द शिर्षकको रकमलाई विरामीको उपचारको लागि सहयोग गरेको छ । वडा कार्यालयको बैठक लगायतको लागि छुट्टाईएको रकमलाई बचाएर रु २० हजार घारका स्थानीय अगुवा फौद बहादुर बरुवालको उपचारको लागि सहयोग गरिएको हो ।

शुक्रवार गाउँपालिकाको केन्द्र पोखरेबगरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममायाँ थापाको बिशेष उपस्थितमा आयोजित एक कार्यक्रममा वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले सो सहयोग रकम उपचाररत बरुवाललाई हस्तान्तरण गर्नुभएको थियो ।

सक्त विराई भएर उपचार गराईरहेका घारका अगुवा बरुवाललाई उपचारमा सहयोग पुगोस भनेर वडा कार्यालयको अन्य खर्चलाई समेट कटौती गरि सहयोग गरिएको वडा अध्यक्ष बरुवालले जानकारी दिनुभयो ।

‘‘ उहाँले गाउँको विकासमा लामो समयसम्म महत्वपूर्ण योगदान दिनुभएको थियो, अहिले रोगले थलिएर उपचाररत हुनुहुन्छ, उहाँको उपचारमा सहयोग पुगोस भनेर कार्यालयको अन्य खर्चलाई आन्तरिक रुपमै व्यवस्थापन गरि वडाका जनप्रतिनिधिको तर्फबाट सो सहयोग गरेका हौँ’’–वडा अध्यक्ष बरुवालले भन्नुभयो ।

उपचाररत बरुवाल नेपालको विभिन्न राजनैतिक परिवर्तनका आन्दोलनहरुमा सक्रिय सहभागीता जनाउनुभएको थियो । उहाँ पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टीको गाउँ स्तरीय नेतृत्वमा रहेर स्थानीय विकास निर्माणको क्षेत्रमा क्रियाशिल हुनुहुन्थ्यो ।

कमल खत्री, सन्तोष गौतम