पोखरेबगर–चित्रे सडक स्तरोन्नति हुने
- २२ चैत्र २०७४, बिहीबार
- 2052 पटक पढिएको
म्याग्दी, २२ चैत । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि चित्रेसम्म सडक स्तरोन्नतिका लागि जग्गा उपलब्ध गराउन घार र शिखका स्थानीयबासी तयार भएका छन् । बजेट प्राप्त भएपनि स्थानीयले सडक स्तरोन्नतिका लागि आफुहरुसँग छलफल गरेर मात्रै काम गर्नुपर्ने माग राखेपछि १८ किलोमिटर पोखरेबगर–घार–खिवाङ–शिख–चित्रे सडक स्तरोन्नतिको कार्य रोकिएको थियो ।
बिहिबार शिख र घारका अगुवा, जग्गाधनी, गाउँपालिका प्रमुख क्या. डमबहादुर पुन, जिल्ला प्राविधिक कार्यालयका इञ्जिनियर रविन महर्जन सहितको संयुक्त भेलामा आवश्यक जग्गा उपलब्ध गराउन स्थानीय सहमत भएको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं ६ घारका वडाअध्यक्ष कृष्ण बरुवालले जानकारी दिए ।
उनका अनुसार, जग्गा विवाद टुगिएपछि सडक स्तरोन्नतिका लागि आवश्यक प्रक्रिया तत्कालै सुरु हुनेछ । शिख, घार, खिवाङ, चित्रे, खोप्रा, घोरेपानी तथा पुलहिलमा भ्रमणका लागि जाने स्वदेशी तथा विदेशीका साथै स्थानीयलाई लक्षित गरि सडक स्तरोन्नति गर्न लागिएको हो । बहुबर्षीय ठेक्का मार्फत उक्त सडक स्तरोन्नतिका लागि ४१ करोड रुपैयाँ बजेट विनीयोजन भएको जिल्ला प्राविधिक कार्यालयका इञ्जिनियर महर्जनले जानकारी दिए ।
भेला मार्फत घार क्षेत्रमा ग्रेड नमिलेको ३ किलोमिटर सडकको नयाँ प्रक्रियाबाट डिपीआर तयार पारेर अघि बढ्ने समेत सहमति भएको छ । भेलामा गाउँपालिका प्रमुख गर्बुजाले पोखरेबगर–चित्रे सडक गाउँपालिकाको लाइफलाइन सडक भएकोले स्थानीयका आवश्यक मागहरु सम्बोधन गर्न गाउँपालिका तयार रहेको बताए । ‘तर हामीले यहाँ छुट्टिएको बजेट जसरी पनि परिचालन गर्नुपर्छ’, उनले भने ।