बेनी नगरपालिकाको गतिविधि सार्वजनिक
- २१ चैत्र २०७४, बुधबार
- 1837 पटक पढिएको
म्याग्दी, २१ चैत । बेनी नगरपालिकाले विकास गतिविधि तथा योजना पत्रकार सम्मेलन गरि जानकारी दिएका छन् । बेनी नगरपालिकाका प्रवक्ता एवम् वडा ८ का अध्यक्ष रामकृष्ण बराईलीले नगरपालिकाको बजेटको कार्यान्वयन तथा १ देखि १० वडासम्मको विकासको गतिविधि सोमबार पत्रकार सम्मलेन गरि जानकारी दिएका हुन् ।
नगरपालिकाको आवश्यकता पहिचान गरि दिगो विकासका योजना बनाउन पहल गरिएको छ । नगरपालिकाको आगामी सभाले आर्थिक र शिक्षा ऐन साथै प्रशासनीक र न्यायीक समितिको कार्य्बिधी पारित गर्ने प्रवक्ता बराईलीले जानकारी दिए । प्रवक्ता बराईलीले रामायण पार्कको लागि गुफाको डिल र पौलत्स्यलाई समेटेर रामायण पार्क योजनाका लागि डिपीआर तयार पार्न अध्ययन गरिरहेको बताए । प्रवत्ता बराईलीले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा नगरपालिकाले बजेट बिनियोजन गरेका ८८ वटा योजना तथा कार्यक्रम सम्पन्न भैसकेको जानकारी दिए ।
३ नम्बर वडा भकिम्लीले ९० प्रतिशत र अन्य वडाले ६५ प्रतिशत भन्दा बढी भौतिक प्रगती हाँसील गरेका जानकारी गराए । ३७ करोड ७८ लाख ८६ हजार रुपैयाँ कुल बजेट मध्य शशर्त अनुदानतर्फ १७ करोड ८० लाख ८६ हजार रुपैयाँ बिनियोजन भएकोमा १३ करोड दुई हजार ७८० रुपैया खर्च भएको छ ।समानीकरणको चालुतर्फ चार करोड ५० लाख बिनियोजन भएकोमा एक करोड ३२ लाख १४ हजार ६४ र पुँजीगततर्फ १४ करोड ८१ लख ११ हजार बिनियोजन भएकोमा तिन करोड २७ लाख खर्च भएको छ । एक करोड ५० लाख रुपैयाँ आन्तरीक आम्दानी गर्ने लक्ष्य रहेकोमा ६६ लाख रुपैयाँ उठीसकेको प्रवक्ता बराईलीले बताए ।
७१ वटा योजना तथा कार्यक्रम मध्य पूर्वाधार तर्फका २५० वटा योजनाका लागि बजेट बिनियोजन भएको छ । २३२ वटा योजनाको सर्वेक्षण, २२५ वटाको लगत ईस्टिमेट तयार र २२६ वटा सम्झौता भएका छन् । ठेक्का मार्फत सञ्चालन हुने तिन वटा योजनाको सम्झौता भईसकेको छ ।सहरी विकास तथा भवन डिभिजन कार्यालयसंग समन्वय गरेर कालीपुल बसपार्कलाई व्यवस्थित गर्न लागिएको बराईलीले बताए । उहाँका अनुसार कालीगण्डकी पुल देखि कालीपुल बसपार्क हुदै वेष्ट पोईन्ट तलको सडक दुई लेनको कालोपत्रे गर्न सडक डिभिजन कार्यालयले ठेक्का प्रक्रिया अघि बढाएको छ । क्याम्पसचोक र मंगलाघाटमा बाढी तथा पहिरो नियन्त्रणका लागि १२ लाख ५० हजार रुपैया दरका दुई वटा योजना कार्यान्वयनको चरणमा रहेका छन् । नगरपालिकाको स्थगित नगरसभा चैत २३ गते बस्ने भएको छ ।