म्याग्दीकी पुन सामाजिक विकास मन्त्रीमा नियुक्त, यस्तो छ पुनको संघर्षको यात्रा

  • १३ चैत्र २०७४, मंगलवार
  • 2177 पटक पढिएको

म्याग्दी, १३ चैत । म्याग्दीको प्रदेश सभा ख बाट बिजयी भएकी महिला नेतृ नरदेवी पुन प्रदेश नम्बर ४ को सामाजिक विकास मन्त्रीमा नियुक्त भएकी छिन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार मन्त्रीपरिषदलाई पूर्णता दिँदै मन्त्रीमण्डल विस्तारमा म्याग्दीकी प्रदेश साँसद पुनलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका हुन् । पुनसंगै पर्वतका विकास लम्साल पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्री र किरण गुरुङलाई आर्थिक, मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका छन् ।


दुई पटक साँसदको अनुभव संगालेकी पुनलाई मन्त्रीको अनुभव पनि दोस्रो पटक हो । २०७० को दोस्रो संविधानसभामा समानुपातिक कोटाबाट सभासद बनेकी पुन केपी ओली नेतृत्वको अघिल्लो सरकारमा पशुपंक्षी विकास राज्यमन्त्री भएर काम गर्ने अवसर पाएकी थिईन् । प्रदेश सभाको निर्वाचनमा धौलागिरि क्षेत्रबाटै एक मात्रै महिलाको रुपमा प्रदेश सभा सदस्यमा निर्वाचित भएकी पुनले प्रदेश सभामा समेत मन्त्री बन्ने अवसर मिलेपछि म्याग्दीबासी खुसी भएका छन् ।

जिल्लाको मंगला गाउँपालिका –१ भर्जुला स्थायी घर भएकी पुन प्रदेश सभाको मन्त्रीमा नियुक्त भएपछि यस क्षेत्रका महिला र विशेष गरि म्याग्देलीहरुले विभिन्न माध्ययमबाट बधाई एवम् शुभकामना व्यक्त गरेका छन् । प्रदेशलाई समृद्ध बनाउने अभियानमा आफ्नो भूमिकालाई बलियो बनाउने नवनियुक्त मन्त्री पुनले प्रतिकृया दिईन् । पार्टीले दिएको जिम्मेवारी र जनताले निर्वाचनमा दिएको मतको अबमुल्यन नहुने गरि महिलाहरुको आर्थिक र सामाजिक शसक्तिकरण संगै समग्र प्रदेश नम्बर ४ को विकास र समृद्धिमा आफ्नो ध्यान केन्द्रित हुने उनले बताईन् । राजनितीक जिवनमा लामो यात्रा गरिसकेकी पुनले संघर्ष र निरन्तरताले राजनीतिमा अवसर सिर्जना गर्छ भन्ने भनाईलाई सार्थकता दिलाएकी छिन् ।

पञ्चायतकालदेखि नै तत्कालीन माले समर्थित अनेरास्ववियुमा आबद्ध पुन लामो समय शिक्षण पेसामा संलग्न थिइन् । उनी राजनिती शास्त्रमा स्नातकोत्तर हुन् । २०५६ सालमा शिक्षण पेसाको स्थायी जागिरबाट राजीनामा दिएर संसदीय निर्वाचनमा उम्मेदवार बनेकी पुन सोही बर्षको संसदीय निर्वाचन र २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा एमालेबाट उम्मेवार बन्ने अवसर पाएपनि पराजित भएकी थिईन् । तर, राजनीतिमा निरन्तरको सक्रियताले उनलाई फेरी अवसर सृजना गरेको हो । उनी जिल्लाकै इतिहासमा महिलाहरुको प्रतिनिधित्व गर्दै पहिलोपटक मन्त्री पदमा पुग्ने व्यक्ति हुन् ।

अहिलेको संघिय सरकारमा म्याग्दीबाटै थममायाँ थापा महिला मन्त्रीमा नियुक्त भएपनि उनी अघिल्लो पटककै केपी ओली सरकारको पालमा पशुपंक्षि विकास राज्यमन्त्री बनेकी थिईन् ।  नेकपा एमालेको जिल्ला कमिटि उपसचिव, राष्ट्रिय परिषद् सदस्य, सांसद , राज्यमन्त्री हुँदै प्रदेश सरकारमा सामाजिक विकास मन्त्री बनेकी हुन् । यस बर्ष म्याग्दीले संघिय र प्रदेश सरकारमा दुई जना मन्त्री पाएको छ । दुबै मन्त्री महिला नेतृ हुन् । जिल्लाबाट प्रदेश र संघिय सरकारमा प्रतिनिधित्व भएपछि यहाँको विकास निर्माण योजनाहरुमा बजेट विनियोजनमा पहुँच पुग्ने र बजेटको मात्रा बढ्ने अपेक्षा म्याग्दीबासीले गरेका छन् ।