राममन्दिरमा रामनवमी महामहोत्सवलाई साढे सात लाख सहयोग जुट्यो
- १० चैत्र २०७४, शनिबार
- 1915 पटक पढिएको
जलजला १० चैत । जलजला गाउँपालीका २ मा रहेको राममन्दीरमा सञ्चालीत श्रीमद भागवत रामनवमी महा महोत्सव तथा रामलिला, कृष्णलिला महायज्ञका लागि साढे सात लाख रुपैया सहयोग जुटेको छ । राष्ट्रिय परोपकार महासंघ र राममन्दिर सेवा आश्रमको आयोजनामा चैत ४ गतेबाट सुरु भएको महोत्सव सञ्चालनका लागि शनिबारसम्म भक्तजनहरुबाट सात लाख ५४ हजार ३७४ रुपैया सहयोग प्राप्त भएको आश्रमका सचिव चित्रराज रेग्मीले जानकारी दिनुभयो ।
राम नवमी पर्वको अवसरमा चैत १२ गतेसम्म सञ्चालन हुने महोत्सवको छैठौ दिन शनिबार सबैभन्दा बढी तिन लाख १२ हजार रुपैया सहयोग संकलन भएको छ । शनिबार मल्लाज, पिप्ले, भगवती, घतान, बेनीका साथै पोखराबाट समेत भक्तजन आएका थिए ।भक्तजनहरुलाई गलेश्वर र राहुघाट आमा समूहले सर्वतको व्यवस्था गरेका थिए । पण्डीत कमलनयन गौतमले भागवत बाचन गर्नुभएको महायज्ञमा अयोध्या, मथुरा, बृन्दावनबाट आउने अभिनय टोलीले प्रस्तुत गर्ने भगवानका दिब्य रामलिला र कृष्ण लिलाका झाँकीहरु बिशेष आकर्षण रहेको छ ।
राममन्दिरको धार्मीक पर्यटन प्रर्वद्धन र परम्पराको संरक्षण गर्ने उद्देश्यले रामनवमी पर्वको अवसरमा महोत्सवको आयोजना गरिएको आश्रमका अध्यक्ष चन्द्रबहादुर क्षेत्रीले बताउनुभयो । कालञ्जर पर्वतको फेदी, राहुघाट र कालीगण्डकी नदीको संगम तथा मुक्ति क्षेत्र प्रवेशद्धार गलेश्वरको नजिकै रहेको राममन्दिरको पूर्वाधार निर्माणसंगै प्रचारप्रसार गरी धार्मीक पर्यटक भित्र्याउन पहल गरिएको छ ।
धौलागिरी हिमालको फेदी र रिखार क्षेत्रबाट बगेर आउने राहुघाट तथा मुक्तिनाथबाट आउने कालीगण्डकी नदीको संगम, विभिन्न धर्मशास्त्रमा उल्लेखीत कालञ्जर पर्वतको फेदी, मुक्तिक्षेत्रको प्रवेशद्धार गलेश्वर नजिक रहेको तथा परापुर्वकालमा ऋषिमुनीहरुले तपस्या गरेको स्थल भएकाले राममन्दिरको प्रशस्त धार्मीक महत्व रहेको छ ।