‘हलो दाई परियारलाई भ्याई नभ्याई’
- ३ चैत्र २०७४, शनिबार
- 2763 पटक पढिएको
म्याग्दी, ३ चैत । उमेरले ६९ बर्षका नैन परियारको दैनिकी हलो बनाएर वित्ने गरेको छ । बेनी नगरपालिका–५ पुलाचौर घर भएका परियार विहानदेखि बेलुकी सम्म नै हलो बनाउन व्यस्त हुनुहुन्छ । ‘हातमा शिप भए त्यसै बस्न र भोकै मर्न पर्दैन’ भन्ने भनाई परियारको जिबनमा मेल खान्छ । बास बस्ने घर बाहेक आफ्नो जग्गा जमिन समेत केही नभएका परियारले हलो बनाउने शिपलाई व्यवसायिक बनाएर परिवारको दैनिक घरखर्च जुटाउँदै आएका छन् ।
लगानीको लागि आर्थिक र जग्गा जमिनको अभाब भएकाले हलो बनाउने पेशालाई उद्यममा रुपान्तरण गर्नबाट बन्चित भएका परियार ग्रामीण भेगमा घरघरमा पुगेर हलो बनाउने गर्दै आउनुभएको छ । उहाँको हलो बनाउने कला र शिपलाई पुलाचौर क्षेत्रमा मात्रै होईन जिल्लाका अन्य गाउँका स्थानीयले समेत उपयोग गर्दै आएका छन् । हरेक दिन जसो अरुको घरमा पुगेर हलो बनाउने गरेका परियारले दैनिक रु ८ सय ज्याला पाउने गरेको बताउनुभयो ।
परियारलाई आफ्नो घरमा घरायसी सामाग्री बनाउन लैजानेहरुको भिड नै लाग्ने गरेको छ । कुनैदिन पनि खाली हात बस्न नपरेको परियारको अनुभव छ । १३ बर्षको उमेरदेखि हलो बनाउन थाल्नुभएका परियारले डोको, थुन्से, लगायतका सामाग्री समेत बनाउँदै आउनुभएको छ ।
दैनिक घरखर्च अरुको घरमा हलो बनाउने, डोको, थुन्से लगायतका सामाग्री बुनेर प्राप्त हुने ज्यालाबाटै जुटाउने गरेको परियार बताउँछन । ग्रामिण भेगमा खेतबारी जोत्नको लागि हलो प्रयोग हुने गरेको छ । ‘‘ आफ्नो भन्ने घर बाहेक केही भएन, छोराछोरीको लालनपालन समेत आफ्नै पौरखबाट गर्नुप¥यो, हलो बनाएर जिवन कटाँए,’’– उहाँले भन्नुभयो ।
परियारले हलो बनाउने पेशाबाटै हुने आम्दानीले छोरा विदेश जाँदा लागेको ऋण समेत चुक्ता गरेको बताउनुभयो । फलाट, चिलाउने, फोस्रो लगायतका जातका काठको बन्दोबस्त भएपछि दैनिक २ वटा सम्म हलो तयार गर्ने गरेको परियारले बताउनुभयो । यस क्षेत्रमा एउटा हलोलाई १ हजारमा विक्रि हुने गरेको छ । ग्रामिण भेगमा खेतबारी जोत्नको लागि प्रयोगमा ल्याइने हलो बनाउने पेशा लोप हुँदै गैरहेको अबस्थामा परियारले यसै पेशाबाट आम्दानी गर्न थालेपछि घरखर्च चलाउन समेत उहाँको परिवारलाई राहत भएको छ ।